Logo

१८ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका राजनीतिक दलहरूले आफ्नो चुनावी घोषणापत्रमा आर्थिक मुद्दाहरूलाई कहिल्यै पनि वास्तविक प्राथमिकतामा नराखेको गुनासो गर्नुभएको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आइतबार काठमाडौँमा आयोजित ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले दलहरू आफ्ना स्पष्ट आर्थिक भिजन स्थापित गर्नुको सट्टा विपक्षीलाई गाली गरेर मात्रै शक्तिमा आउन खोज्ने प्रवृत्ति मौलाएको टिप्पणी गर्नुभयो । उहाँले राजनीतिक दलका नेतृत्वले निजी क्षेत्रको योगदानलाई नजरअन्दाज गरेको भन्दै राज्यमा रोजगारी सिर्जना र कर भुक्तानीमा निजी क्षेत्रले पुर्‍याएको भूमिकाको कहिल्यै सही मूल्याङ्कन र चर्चा नभएको बताउनुभयो ।

अध्यक्ष ढकालले सरकारी निकायहरूबीचको समन्वय अभाव र लोकप्रियतावाद (पपुलिजम) का कारण अर्थतन्त्रमा गम्भीर समस्या देखिएको उल्लेख गर्नुभयो । मन्त्रालयहरूबीच समन्वय नहुने र कतिपय अवस्थामा राज्यलाई दीर्घकालीन क्षति पुग्ने निश्चित हुँदाहुँदै पनि सस्तो चर्चा बटुल्नका लागि हचुवामा निर्णय गर्ने परिपाटी बढेको उहाँको तर्क थियो ।

राजनीतिक नेतृत्वले निजी क्षेत्रप्रति राख्ने नकारात्मक धारणाले गर्दा समग्र अर्थतन्त्र नै प्रभावित भएको उल्लेख गर्दै उहाँले राज्यले निजी क्षेत्रलाई प्रवर्द्धन र संरक्षण नगरेसम्म देशको आर्थिक गतिविधि चलायमान हुन नसक्ने स्पष्ट पार्नुभयो ।


सम्बन्धित समाचार