Logo

१९ माघ, काठमाडौं । निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले आफ्नो तयारीलाई तीव्र बनाएको छ ।

आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य धमाधम भइरहेको छ। हालसम्म २५ जिल्लाका लागि कुल ३० लाख थान मतपत्र छापिसकिएको आयोगले जनाएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम चौबीसै घण्टा निरन्तर भइरहेको छ भने समानुपातिकतर्फका लागि आवश्यक २ करोड ८ लाख ३० हजार मतपत्रको छपाइ यसअघि नै सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

आयोगले केवल मतपत्र छपाइमा मात्र नभई मतदाता शिक्षामा पनि विशेष जोड दिएको छ । मतदाताहरूलाई मतदान प्रक्रियाबारे जानकारी गराउन १० लाख ९८ हजार भन्दा बढी नमुना मतपत्रहरू तयार पारिएका छन्। यस पटकको निर्वाचनलाई प्रविधिमैत्री र सूचनामूलक बनाउन आयोगको सूचना सम्प्रेषण तथा समन्वय केन्द्रले १५८ वटा भन्दा बढी विभिन्न शैक्षिक सामग्रीहरू फेसबुक, टिकटक र युट्युब जस्ता सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । यस्ता सामग्रीले निर्वाचनका बारेमा फैलन सक्ने मिथ्या र भ्रमपूर्ण सूचनालाई न्यूनीकरण गर्दै निर्वाचनको स्वच्छता कायम राख्न मद्दत पुग्ने आयोगको विश्वास छ ।

यसैबीच, निर्वाचन आयोगले आसन्न निर्वाचनको तयारी र निष्पक्षताबारे अन्तर्राष्ट्रिय समुदायलाई समेत विश्वस्त पारेको छ। परराष्ट्र मन्त्रालयको समन्वयमा काठमाडौँस्थित कूटनीतिक नियोगका प्रमुख तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिहरूलाई निर्वाचनको सुरक्षा वातावरण र पर्यवेक्षणका विषयमा विस्तृत ब्रिफिङ गरिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, निर्वाचनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप र विश्वसनीय बनाउनका लागि भएका तयारीहरूबारे विदेशी प्रतिनिधिहरूलाई जानकारी गराइएको छ, जसले गर्दा निर्वाचनको लोकतान्त्रिक साखलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार