Logo

१९ माघ,वीरगञ्ज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी अभियानका क्रममा सोमबार बारा पुगेका छन्। बिहान सिमरा विमानस्थलमा अवतरण गरेका घिसिङलाई पार्टी कार्यकर्ता तथा समर्थकहरूले भव्य स्वागत गरेका थिए।

सिमरामा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले आफू पहिलो पटक सिमरा आएको उल्लेख गर्दै अब देशभर चुनावी अभियानलाई तीव्रता दिने बताए। उनले भने, “अहिलेको चुनावी अभियान हामीले देशैभर सुरु गरेका छौं। म पहिलो पटक सिमरामा आएको हुँ। अब विस्तारै देशभर पुगेर चुनावी अभियान अघि बढाउँछौं।”

उनले उज्यालो नेपाल पार्टीले देशभर १२१ स्थानमा उम्मेदवार उठाएको जानकारी दिँदै पूर्वदेखि पश्चिमसम्म धेरै सिटमा जित हासिल गर्ने अपेक्षा रहेको बताए।

अध्यक्ष घिसिङले विगतमा देश र जनताको मागअनुसार सहमतिको प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा गएको भए पनि सो सहमति कार्यान्वयन नभएको गुनासो गरे। उनले झापा–५ मा आफ्नो पार्टीको समेत उम्मेदवार रहेको उल्लेख गर्दै जनताको निर्णय स्वीकार गर्न तयार रहेको बताए।

उनले भने, ‘झापा ५ मा हाम्रो पनि उम्मेदवार हुनुहुन्छ। जनताले गर्नुभएको निर्णय मान्न तयार छौं। जेनजी आन्दोलन, देश र जनताको माग अनुसार हामीले सबै छाडेर एउटा सहमतीमा जाउ भन्ने हिसाबले गएका थियौं तर कार्यान्वयन भएन।’


सम्बन्धित समाचार