२१ माघ, सेढवा । पर्साको जिराभवानी गाउँपालिका–५ निवासी विकाउ भण्डारी चौधरीले आफूमाथि लागेको ठगीको आरोप निराधार रहेको दाबी गरेका छन्।
बुधबार वीरगञ्जमा आधा दर्जन पत्रकारहरूसँगको भेटघाट तथा पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले सामाजिक सञ्जाल र केही अनलाइन मिडियामार्फत आफ्नो संलग्नता नरहेको विषयमा समाचार सम्प्रेषण गरी चरित्र हत्या गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
केही दिनअघि सामाजिक सञ्जाल तथा अनलाइन मिडियामा भण्डारी र लक्ष्मी चौधरी मिलेर जिराभवानी गाउँपालिका–४ का हेम नारायण राय थारुलाई ठगी गरेको समाचार सार्वजनिक भएको थियो। उक्त समाचारमा सर्वोच्च अदालतमा विचाराधीन रहेको जग्गा मुद्दा जिताइदिने भन्दै ६० लाख रुपैयाँको कपाली तमसुक गराइएको र १० कठ्ठा जग्गा माग गरिएको आरोप लगाइएको थियो।
आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै भण्डारीले भने,
“मेरो प्रतिक्रिया नै नलिई निहित स्वार्थका कारण मलाई दोषी देखाउन खोजिएको छ। उक्त घटना र लेनदेनमा मेरो कुनै पनि हात छैन। सत्यतथ्य नबुझी मेरो मान–सम्मानमा चोट पुग्ने गरी समाचार फैलाइएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।”
यस विषयमा थप जानकारी लिन लक्ष्मी देवी तथा आरोप लगाउने पक्षका हेम नारायण राय थारु (देवनारायण)सँग सम्पर्क गर्ने प्रयास गर्दा उनीहरूको फोन सम्पर्कमा आउन सकेन। उनीहरूको घरमा बुझ्न जाँदा समेत कोही पनि नभेटिएको बुझिएको छ।
पीडित भनिएका पक्षले यसअघि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिँदै छानबिनको माग गरेका थिए। तर, आरोपित भण्डारीले भने आफूलाई नियोजित रूपमा फसाउन खोजिएको दाबी गर्दै आएका छन्।
















