Logo

 २२ माघ,काठमाडौं । अमेरिकाको प्रतिष्ठित सञ्चार संस्था द वासिङ्टन पोस्ट ले व्यापक पुनर्संरचनाको क्रममा ३०० भन्दा बढी पत्रकार तथा कर्मचारीलाई एकैपटक सेवाबाट हटाएको छ। व्यवस्थापनले आन्तरिक ‘स्टाफ कल’ मार्फत करिब ३० प्रतिशत जनशक्ति कटौती गरिएको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

अमेजनका संस्थापक जेफ बेजोसको स्वामित्वमा रहेको यस अखबारले पछिल्ला वर्षहरूमा निरन्तर घट्दो विज्ञापन आम्दानी, पाठक संख्यामा आएको गिरावट र बढ्दो सञ्चालन खर्चलाई कटौतीको मुख्य कारणका रूपमा देखाएको छ। डिजिटल मिडियातर्फ पाठकको आकर्षण बढ्दै जाँदा परम्परागत समाचार संस्थाहरू आर्थिक संकटमा पर्दै गएका बेला वासिङ्टन पोस्टले पनि संगठनात्मक पुनर्संरचना अघि बढाएको हो।

पुनर्संरचनाको क्रममा पत्रिकाले आफ्नो खेलकुद डेस्क र पुस्तक खण्ड पूर्ण रूपमा बन्द गरेको कोलम्बिया जर्नलिज्म रिभ्यूले जनाएको छ। यससँगै चर्चित पडकास्ट ‘पोस्ट रिपोर्ट्स’ पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ। खेलकुद डेस्कका केही पत्रकारलाई अन्य विभागमा स्थानान्तरण गरिए पनि अधिकांशले रोजगारी गुमाएका छन्।

यसको प्रभाव अन्तर्राष्ट्रिय ब्युरोहरूमा पनि परेको छ। भारत, खाडी क्षेत्र, अष्ट्रेलिया र युक्रेनमा कार्यरत ब्युरो प्रमुख तथा संवाददाताहरूलाई हटाइएको बताइएको छ। युक्रेन ब्युरो प्रमुख सियोभान ओ’ग्रेडी र संवाददाता लिजी जोन्सनसमेत कटौतीमा परेका पत्रकारमध्ये रहेका छन्।

मिडिया क्षेत्रमा विश्वव्यापी रूपमा देखिँदै आएको आर्थिक दबाब, डिजिटल प्रतिस्पर्धा र विज्ञापन बजारको स्वरूप परिवर्तनले ठूला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई समेत पुनर्संरचना गर्न बाध्य बनाइरहेको विश्लेषकहरूको भनाइ छ। वासिङ्टन पोस्टको पछिल्लो निर्णयलाई परम्परागत मिडिया संस्थाहरूले सामना गरिरहेको दीर्घकालीन संरचनात्मक संकटको संकेतका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार