Logo

२४ माघ, काठमाडौं । अमेरिका र भारतले अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा गरेका छन्। दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै सम्झौता सार्वजनिक गरेका हुन्।

यसअघि २ फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौतामा सहमति भएको घोषणा गरेका थिए। सोही क्रममा भारतविरुद्ध लगाइएको ५० प्रतिशत आयात शुल्क (ट्यारिफ) घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गरिएको थियो। तर, त्यसबेला सम्झौताका विस्तृत विवरण सार्वजनिक गरिएको थिएन।

अब संयुक्त वक्तव्य जारी भएसँगै सम्झौतासम्बन्धी थप विवरण बाहिर आएका छन्। भारतका वाणिज्य मन्त्री पीयूष गोयलले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा यो सम्झौताले भारतीय निर्यातकर्ताहरूका लागि करिब ३० ट्रिलियन अमेरिकी डलर (झन्डै ४३३ खर्बभन्दा बढी नेपाली रुपैयाँ) बराबरको बजार खोल्ने बताएका छन्।

उता, ह्वाइट हाउसले जारी गरेको कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति ट्रम्पले भारतले रुसी महासंघबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तेल आयात बन्द गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन्। साथै, भारतले अमेरिकाबाट ऊर्जा उत्पादन खरिद गर्ने र आगामी १० वर्षमा रक्षा सहयोग विस्तार गर्न तयार रहेको पनि कार्यकारी आदेशमा उल्लेख छ।

सम्झौताअनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुहरूमा लगाइने ‘रेसिप्रोकल ट्यारिफ’ घटाउने जनाएको छ। यस कटौतीपछि भारतीय उत्पादनमा लाग्ने ट्यारिफ दर १८ प्रतिशत कायम रहनेछ।

ह्वाइट हाउसको वक्तव्यमा अन्तरिम व्यापार सम्झौताका लागि एक ढाँचागत फ्रेमवर्क तय भइसकेको र केही सर्तहरू समेत निर्धारण गरिएको उल्लेख गरिएको छ। सम्झौतालाई दुवै देशबीचको व्यापारिक तथा रणनीतिक सम्बन्ध विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार