२५ माघ,मुम्बई । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत इङ्ग्ल्यान्डसँगको खेलमा नेपालले टस हारेको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा इङ्ग्ल्यान्डका कप्तान ह्यारी ब्रूकले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्।
यस खेलमा शेर मल्लले नेपाली टोलीबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्। साथै शेर मल्लसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले पहिलो पटक टी–२० विश्वकप खेल्दैछन्।
दुई पटकको विश्वकप विजेता इङ्ग्ल्यान्डसँगको यो खेल नेपालका लागि ऐतिहासिक बनेको छ। नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक टी–२० विश्वकपमा सहभागिता जनाएको हो।
२० टोली सहभागी प्रतियोगितामा चार समूह बनाइएका छन्। प्रत्येक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ चरणमा प्रवेश गर्नेछन्। सुपर–एटमा पुगेका आठ टोली दुई समूहमा विभाजन हुनेछन्, जहाँबाट समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
१०औँ संस्करणको आईसीसी टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा आयोजना हुने तालिका रहेको छ।
यस्तो छ नेपाली टोली –
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव, सन्दीप लामिछाने
















