२५ माघ,काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। भारतको मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा इंग्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनायो। इंग्ल्यान्डका लागि कप्तान ह्यारी ब्रुक र ज्याकब बेथेलले अर्धशतकीय पारी खेले।
३५ बल खेलेका बेथेलले ४ छक्का र ४ चौकाको मद्दतमा ५५ रन जोडे। कप्तान ब्रुकले ३२ बलमा ५३ रनको योगदान दिए। यस्तै, विल ज्याक्सले १८ बलमा ४ छक्का प्रहार गर्दै अविजित ३९ रन बनाउँदै इंग्ल्यान्डको इनिङ्स मजबुत पारे। जोस बटलरले २६ रन जोडे।
नेपालतर्फ बलिङमा दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिँदा शेर मल्ल र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे।
विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ। नेपालको समूहमा इंग्ल्यान्डसँगै वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन्।
















