२६ माघ,काठमाडौं । इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता तथा मानव अधिकार अभियन्ता नर्गेस मोहम्मदीलाई छ वर्षको जेल सजाय सुनाएको छ। सरकारविरोधी प्रदर्शनमा भेला आयोजना गरेको र ‘अपराधमूलक अभियानमा संलग्न’ भएको आरोपमा उक्त सजाय सुनाइएको हो।
मोहम्मदीका वकिल मुस्तफा निलीका अनुसार अदालतले उनलाई प्रचार गतिविधिमा संलग्न भएको अभियोगमा थप डेढ वर्षको जेल सजाय पनि सुनाएको छ। साथै, उनलाई दुई वर्षका लागि दक्षिण खोरासान प्रान्तको खोस्फ शहरमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ।
इरानी कानुनअनुसार यी सबै सजाय र प्रतिबन्धहरू एकैसाथ लागू हुने निलीले जानकारी दिएका छन्। उनले मोहम्मदीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उपचारका लागि अस्थायी रूपमा जमानतमा रिहा गरिने आशा व्यक्त गरेका छन्। उनले अदालतको फैसला अन्तिम नभएको र पुनरावेदन गर्न सकिने पनि बताएका छन्।
५३ वर्षीया मोहम्मदी विगत २५ वर्षदेखि इरानमा मृत्युदण्डको प्रयोग तथा महिलाहरूका लागि अनिवार्य ड्रेस कोडको विरुद्ध मुखर रूपमा अभियान चलाउँदै आएकी छन्। यही कारण उनीमाथि पटक–पटक मुद्दा चलाइँदै आएको छ र उनी धेरैपटक जेल परेकी छन्।
मोहम्मदीले पछिल्लो दशकको अधिकांश समय जेलमै बिताएकी छन्। सन् २०१५ देखि पेरिसमा बस्दै आएका आफ्ना जुम्ल्याहा सन्तानलाई उनी अहिलेसम्म भेट्न सकेकी छैनन्।
जेलभित्र रहेर पनि मोहम्मदी महिला अधिकार र सरकारका नीतिविरुद्ध आवाज उठाइरहेकी छन्। उनले कैयौँ पटक भोक हड्तालसमेत गरेकी छन्।
















