२८ माघ, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकालाई जोड्ने गण्डक नहरस्थित तिलावे पुल लामो समयदेखि जीर्ण अवस्थामा पुगेपछि सवारी आवागमन प्रभावित भएको छ। ग्रामीण क्षेत्रका लागि ‘लाइफलाइन’ मानिने उक्त पुल प्रयोग गर्न नपाउँदा हजारौं स्थानीय बासिन्दा, किसान, व्यापारी, विद्यार्थी तथा बिरामी प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
करिब दुई वर्षदेखि पुलबाट चार चक्के तथा ठूला सवारी साधन सञ्चालन हुन नसक्दा दैनिक आवतजावतमा गम्भीर समस्या भइरहेको यात्रुहरूले बताएका छन्। पुल जोखिमपूर्ण बनेपछि सुरक्षाका कारण सवारी आवागमन रोकिएको भए पनि सम्बन्धित निकायले समयमै मर्मत, पुनर्निर्माण वा वैकल्पिक व्यवस्था नगर्दा समस्या जटिल बन्दै गएको स्थानीयको गुनासो छ।
बहुदरमाई नगरपालिका–४ का प्रेम साह तुराहाले सरकारी निकायले पटक–पटक निरीक्षण गरे पनि ठोस प्रगति नभएको बताए। “सम्बन्धित निकायका मानिसहरू आउँछन्, निरीक्षण गरेजस्तो गर्छन् अनि फर्किन्छन्,” उनले भने, “पुल भत्किएको करिब दुई वर्ष हुन लाग्यो, तर कहिलेसम्म बन्ने हो भन्ने कुरा अझै थाहा छैन।”
उनका अनुसार करिब एक महिनादेखि पुलको डाइभर्सन निर्माण कार्य सुरु भएको छ। हाल पैदल यात्री र हलुका सवारी साधन मात्र आवतजावत गर्न सक्ने अवस्था छ भने चार चक्के र ठूला गाडी सञ्चालन हुन सकेका छैनन्। यसले व्यापार, उपचार तथा दैनिक कामकाजमा समस्या थपिएको उनले बताए।
यात्रु रमिता साहका अनुसार पुल जीर्ण भएपछि नियमित रूपमा आवागमनमा समस्या भोग्नुपरेको छ। विशेषगरी वर्षायाममा गण्डक नहरमा पानी बढ्दा पैदल यात्रा समेत जोखिमपूर्ण बन्ने गरेको उनले बताइन्। वर्षौंसम्म पनि पुल मर्मतमा प्रभावकारी पहल नभएकोप्रति उनले असन्तोष व्यक्त गरिन्।
भौराटारका किसान हरिनारायण साहले पुल नचल्दा कृषि उपज बजारसम्म पुर्याउन कठिनाइ भएको बताए। वैकल्पिक लामो बाटो प्रयोग गर्नुपर्दा ढुवानी खर्च बढेको र समयमै बजार नपुग्दा उत्पादनको उचित मूल्य नपाइने अवस्था आएको उनले गुनासो गरे।
दैनिक मजदुरीका लागि वीरगञ्ज आउने–जाने गेना साहले पुल बन्द हुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताए। “पैदल हिँड्दा सधैं डर लाग्छ, पानी बढ्दा झन् समस्या हुन्छ,” उनले भने, “छिटो पुल बनेको हेर्न चाहेका छौं, तर कहिले बन्छ भन्ने थाहा छैन।”
स्थानीयका अनुसार समयमै मर्मत सम्भार गरिएको भए पुलको अवस्था यति बिग्रिने थिएन। दीर्घकालीन योजना र नियमित अनुगमनको अभावका कारण पुल पूर्ण रूपमा जीर्ण भई आवागमन बन्द हुन पुगेको उनीहरूको भनाइ छ।
यसैबीच, चालु आर्थिक वर्ष २०८२/०८३ मा नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, पर्साबाट बोलपत्र आह्वान भई ममता इन्टरप्राइजेज कन्स्ट्रक्सन प्रा.लि., लोकन्थली–१, भक्तपुरले २ करोड ४६ लाख ६० हजार रुपैयाँमा पुलको डाइभर्सन निर्माणको ठेक्का पाएको छ। सम्झौताअनुसार निर्माण कार्य २०८२ माघ २३ गतेदेखि सुरु भई २०८३ जेठ १ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
ठेकेदार कम्पनीले तोकिएको समयभित्रै डाइभर्सन निर्माण सम्पन्न गर्ने जनाएको छ। तर विगतका अनुभवका कारण स्थानीयवासी अझै आशंकित छन्। उनीहरूको माग छ—सम्झौता कागजमै सीमित नहोस् र निर्माण कार्य समयमै सम्पन्न होस्।
















