१ फागुन, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारको नेतृत्वका लागि देश दौडाहामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको काठमाडौं महानगरपालिका कार्यसम्पादनका आधारमा देशका महानगरहरूमध्ये सबैभन्दा कमजोर देखिएको छ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनअनुसार काठमाडौं महानगरपालिकाले १०० पूर्णाङ्कमा ४४.९७ अंक प्राप्त गर्दै महानगरहरूमध्ये पुछारमा परेको हो । आयोगले स्थानीय तहको खर्च व्यवस्थापन, राजस्व सङ्कलन, बजेट कार्यान्वयन र सेवा प्रवाहलगायत १७ वटा सूचकका आधारमा मूल्यांकन गर्दै आएको छ ।
मूल्यांकनअनुसार विराटनगर महानगरपालिका ७८.११ अंकसहित पहिलो स्थानमा रहेको छ। महानगरको नेतृत्व नागेश कोइरालाले गरिरहेका छन् ।
दोस्रो स्थानमा ललितपुर महानगरपालिका ७६.३३ अंकसहित रहेको छ। यहाँका मेयर चिरिबाबु महर्जन हुन् । तेस्रो स्थान भरतपुर महानगरपालिकाले ६८.०४ अंकसहित हासिल गरेको छ। महानगरको नेतृत्व रेणु दाहालले सम्हालेकी थिइन् । चौथो स्थानमा पोखरा महानगरपालिका ५८.७६ अंकसहित रहेको छ। महानगर प्रमुख धनराज आचार्य हुन् ।
वीरगञ्ज महानगरपालिका ५४ अंकसहित पाँचौं स्थानमा परेको छ। महानगरको नेतृत्व राजेशमान सिंहले गरिरहेका छन्। उनी हालै नेकपा एमालेमा प्रवेश गरेका नेता हुन् ।
आयोगले कार्यसम्पादन मूल्यांकनका लागि बजेट समयमै सार्वजनिक गर्ने, घरजग्गा तथा मनोरञ्जन करको ४० प्रतिशत प्रदेश कोषमा दाखिला गर्ने, राजस्व परिचालन, विद्यार्थी भर्ना तथा टिकाउ दर, गर्भजाँच गराउने महिलाको अनुपात, एसईई नतिजा, बालबालिकामा खोपको पहुँचलगायतका सूचक समेटेको जनाएको छ ।
यी सूचकमा प्राप्त अङ्ककै आधारमा स्थानीय तहहरूले संघीय सरकारबाट पाउने समानीकरण अनुदानको परिमाणसमेत निर्धारण हुने गर्दछ ।
महानगरबाहेक स्थानीय तह कार्यसम्पादनतर्फ पाणिनी गाउँपालिका ८३.८४ अंकसहित देशकै पहिलो बनेको छ भने चौरजहारी नगरपालिका ८२.१५ अंकसहित दोस्रो स्थानमा रहेको छ।
त्यसैगरी मधेश प्रदेशतर्फ पर्सागढी नगरपालिका ७२.९९ अंकसहित प्रदेशमै उत्कृष्ट स्थानीय तहका रूपमा दर्ज भएको आयोगले जनाएको छ ।
















