४ फागुन, चितवन । युरोपेली मुलुक स्लोभाकियामा आकर्षक रोजगारीको प्रलोभन देखाएर चितवनका एक व्यक्तिले सयौँ नेपाली युवालाई भारतको नयाँ दिल्लीमा अलपत्र पारेका छन्।
चितवनको भरतपुरस्थित आस्था चोकमा अवैध रूपमा ‘गोल्डेन फिडर’ नामक कम्पनी सञ्चालन गर्ने सुरेश परियारले दजनौं नेपालीलाई अढाई महिनादेखि दिल्लीका विभिन्न होटलमा बन्धकजस्तै बनाएर राखेको तथ्य बाहिर आएको हो।
पीडितहरूका अनुसार परियारको समूहले स्लोभाकिया पठाउने भन्दै प्रतिव्यक्ति १४ लाख रुपैयाँसम्म असुल गरेको छ। नवलपुरका गणेश क्षेत्री विगत ७० दिनदेखि दिल्लीको एउटा होटलमा अलपत्र छन्। घर फर्किन्छु भन्दा पनि होटलको पैसा तिर्दैन, न स्लोभाकिया पठाउने छाँटकाँट छ, क्षेत्रीले टेलिफोनमा भने, “हाम्रो पासपोर्ट उनीहरूको नियन्त्रणमा छ, पैसा र पासपोर्ट माग्दा उल्टै धम्की दिन्छन्।”
परियार विरुद्ध चितवन र नवलपुरका प्रहरी र प्रशासनमा मानव तस्करी सम्वन्धी उजुरी परेका छन् । उनीमाथि स्थानीय प्रहरी प्रशासनले हाल सम्म कार्वाही नगरेको पीडित व्यक्तिहरुको भनाई छ । दिल्लीमा अलपत्र परेका गणेश क्षेत्रीले पनि परियार विरुद्ध बैदेशीक रोजगार विभाग, स्थानीय प्रहरी र प्रशासनमा घरपरिवार मार्फत उजुरी गर्ने बताए ।
चितवन, नवलपुर, गोरखा, मकवानपुर र धादिङका युवाहरूलाई दिल्ली ट्रान्जिट बनाएर युरोप पठाउने भन्दै लगिएको थियो। पासपोर्ट जस्तो संवेदनशील कागजात एजेन्टले कब्जामा लिएका कारण कामदारहरू स्वदेश फर्कनसमेत असमर्थ छन्।
स्लोभाकिया पुगेका ५२ जनाको पनि बिचल्ली
यता, अढाई महिनाअघि स्लोभाकिया पुग्न सफल भएका ५२ जना नेपालीको अवस्था झनै दर्दनाक छ। उनीहरूको बायोमेट्रिक र टीआरसी (TRC) आवेदन प्रक्रिया अघि नबढ्दा उनीहरू अवैध हुने जोखिममा छन्। आगामी मार्च ६ मा हाम्रो भिसाको म्याद सकिँदै छ, स्लोभाकियामा रहेका एक पीडितले भने, “भारतीय एजेन्टलाई सोध्दा नेपाली एजेन्टले पैसा नदिएकोले काम नभएको जवाफ दिन्छन्।” तीन हप्ताभित्र प्रक्रिया पूरा नभए उनीहरू त्यहाँबाट निकाला हुने (डिपोर्ट) निश्चित छ।
पीडितहरूका अनुसार सुरेश परियारले भारतीय नागरिक जिम्जो जोसेप नेतृत्वको संगठित मानव तस्करी गिरोहसँग मिलेर यो धन्दा चलाउँदै आएका छन्। जोसेप गिरोहले चितवनलाई मुख्य आधार बनाएर काठमाडौँ, बारा, पर्सा र मकवानपुरसम्म एजेन्ट सञ्जाल फैलाएको छ।
गोल्डेन फिडर नामको संस्था दर्ता नै नगरी परियारले अवैध रूपमा युवाहरू भेला गर्ने गरेको पाइएको छ। भरतपुरस्थित उनको कार्यालयमा हाल तालाबन्दी छ भने त्यहाँ भेटिने केशव र राजीव नामका एजेन्टहरूले पैसा माग्न आउने पीडितलाई थर्काउने गरेका छन्। प्रहरीको दबाबपछि केहीलाई चेक दिए पनि बैंकमा रकम नभएका कारण बाउन्स भइरहेको पीडितहरूको गुनासो छ।
यस सम्वन्धमा गोल्डेन फिडर कम्पनीका संचालक सुरेश परियारसँग सम्पर्क गर्न खोज्दा उनको मोवाइलमा सम्पर्क हुन सकेन । उनले संचालन गरेको कार्यालय भने वन्द रहेको थियो । विभिन्न व्यक्तिसँग लिएको रकम फिर्ता दिनुपर्ने भयले उनले मोवाइल फोन अफ गर्ने गरेको पीडित व्यक्तिहरुको भनाई छ ।
प्रशासनको आग्रह, उजुरी लिएर आउनुस्
सुरेश परियार र जिम्जो जोसेप विरुद्ध जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनमा पटक–पटक उजुरी परे पनि राजनीतिक वा अन्य पहुँचका कारण उनीहरूमाथि कडा कारबाही हुन नसकेको पीडितहरूको दाबी छ।
यस विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पीडितहरूलाई निर्धक्क भएर प्रशासनमा आउन आग्रह गरेका छन्। म आएपछि यस्तो उजुरी परेको जानकारीमा छैन, प्रजिअ अर्यालले भने, “यदि कोही व्यक्ति पीडित हुनुहुन्छ भने प्रमाणसहित आउनुस्, हामी तत्काल कारबाही अघि बढाउँछौँ।”
वैध वैदेशिक रोजगारीको आवरणमा भइरहेको यो संगठित ठगी र मानव तस्करीले सयौँ नेपाली युवाको भविष्य र करोडौँ रुपैयाँ जोखिममा परेको छ।

















