११ फागुन, गौर (रौतहट) । विगत तीन दिनदेखि साम्प्रदायिक तनावले अशान्त बनेको रौतहटको सदरमुकाम गौर बिस्तारै सामान्य अवस्थातर्फ फर्किन थालेको छ। स्थिति नियन्त्रणमा लिन र स्थायी शान्ति कायम गर्न जिल्ला प्रशासन कार्यालयमा आइतबार सम्पन्न सर्वपक्षीय बैठकले ५ बुँदे सहमति गरेसँगै तनाव अन्त्य हुने विश्वास लिइएको हो ।
सद्भाव कायम राख्न आज सोमबार बिहान साढे ७ बजे नागरिक समाजको अगुवाइमा झडप प्रभावित क्षेत्र सबगढामा ‘सद्भाव र्याली’ निकालिने कार्यक्रम तय गरिएको छ । बिहीबार राति जन्तीको बाजा बजाउने विषयलाई लिएर दुई समुदायबीच सुरु भएको विवादले उग्र रूप लिएपछि गौर नगरपालिका-६ सबगढा क्षेत्र तनावग्रस्त बनेको थियो ।
शान्ति सुरक्षामा खलल पुर्याएको र साम्प्रदायिक विद्वेष फैलाएको गम्भीर आरोपमा प्रहरीले गौर-६ का वडाध्यक्ष अवधबिहारी साह र पूर्व वडाध्यक्ष शेख जमशैदसहित २३ जनालाई नियन्त्रणमा लिएको छ । रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजालका अनुसार पक्राउ परेका व्यक्तिहरूले घटनालाई उत्तेजित बनाउन भूमिका खेलेको आशंका गरिएको छ ।
“हामीले पक्राउ परेकाहरूको मोबाइल र केही अडियो क्लिपलाई अनुसन्धानको विशेष दायरामा राखेका छौँ,” एसपी रिजालले भने, “सामाजिक सञ्जाल र अन्य माध्यमबाट साम्प्रदायिक घृणा फैलाउने जोकोहीलाई कानुनी कारबाही गरिनेछ।”
मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर भएको आक्रमण र त्यसपछिको ढुङ्गा हानाहानले स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रशासनले शनिबार दिउँसो १ बजेदेखि लगाएको कफ्र्यु आज बिहान ६ बजेदेखि केही खुकुलो बनाइको छ । तर यस अवधिमा पनि धार्मिक, जातीय वा सामाजिक–सांस्कृतिक सद्भाव र एकतामा असर पुग्ने उद्देश्यले कुनै पनि भेला, जुलुस वा प्रदर्शन गर्न निषेध गरिएको छ। बिहान १० बजेसम्मको अवस्थाको मूल्यांकन गरेर आवश्यक निर्णय लिइने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिएका छन्।
जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा दुवै पक्षका प्रतिनिधिहरूले विगतका गल्ती नदोहोर्याउने र आगामी दिनमा धार्मिक सहिष्णुता कायम राख्ने प्रतिबद्धता जनाएका छन् । ५ बुँदे सहमतिमा सामाजिक सद्भाव बिग्रन नदिने, दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउने र फागुन २१ को निर्वाचनका लागि भयरहित वातावरण निर्माण गर्ने उल्लेख छ ।
नागरिक समाजका अगुवाहरूले भने राजनीतिक स्वार्थका लागि सामाजिक संरचना बिगार्ने प्रयास भइरहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् । आजको सद्भाव र्यालीले जनजीवनलाई लयमा फर्काउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

















