Logo

७ वैशाख, वीरगञ्ज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार कायमै रहे ज्येष्ठ नागरिक, एकल महिला तथा कमजोर आर्थिक अवस्था भएका अल्पसङ्ख्यक नागरिकले पाउँदैआएको सामाजिक सुरक्षा भत्ता खतरामा पर्ने दाबी गर्नुभएको छ ।

बारा क्षेत्र नम्बर २ मा बिहीबार आयोजित एमालेको चुनावी सभामा उहाँले सो कुरा बताउनुभएको हो । देशको आर्थिक अवस्था जर्जर र कमजोर बन्दैगएको र यस्तै अवस्था कायमै रहे मुलुक आर्थिक रूपले कमजोर बन्ने उहाँले बताउनुभयो । देशको अर्थतन्त्र सुधारमा सरकारले काम नगरेको उहाँले आरोप लगाउनुभयो ।

देश र जनताको पक्षमा काम गर्ने कुनै योजना सरकारसँग नरहेको उहाँले टिप्पणी गर्नुभयो । देशका सुरक्षाकर्मीले लगाउने पोसाक समेत खतरामा परेको उहाँले दाबी गर्नुभयो । सुरक्षाकर्मीका लागि खरिद गरिने कपडा खरिदका लागि समेत आर्थिक कमजोरीका कारण सरकारलाई गाह्रो भएको उहाँले बताउनुभयो ।

एमाले नेतृत्वको सरकारले गरेका विकासका कामले देशको आर्थिक समृद्धिको सुरुवात भए पनि अहिलेको सरकारले देशको आर्थिक हैसियत चिन्ताजनक बनाएको उहाँले गुनासो गर्नुभयो ।


सम्बन्धित समाचार