Logo

१९ चैत, काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहले बिहीबारका लागि तय गरेको जिल्ला सभापतिहरूको भेला तत्कालका लागि स्थगित गरेको छ । विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूको धुम्बाराहीमा बसेको बैठकले उक्त भेला स्थगित गर्ने निर्णय गरेको हो ।

संस्थापनइतर समूहले फरक ढङ्गले आफ्ना गतिविधि अगाडि बढाउने तयारी स्वरूप भेला स्थगित गरिएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको दुई दिने बैठक आह्वान गरेपछि इतर समूहले आफ्नो रणनीति बदल्ने सङ्केत गरेको हो ।

एक युवा नेताका अनुसार अब जिल्ला सभापतिहरूलाई एकै ठाउँमा भन्दा पनि प्रदेशअनुसार छुट्टाछुट्टै बोलाएर छलफल गर्ने तयारी भइरहेको छ। थप आन्तरिक गृहकार्य गरेपछि मात्रै भेलाको अर्को मिति तय गरिने एक शीर्ष नेताले जानकारी दिए ।

भेला स्थगित हुनुको अर्को मुख्य कारण सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई पनि मानिएको छ । इतर समूहका एक नेताका अनुसार २२ चैतमा सर्वोच्च अदालतमा पार्टीको आधिकारिताका विषयमा तोकिएको पेसीलाई मध्यनजर गर्दै अहिलेका लागि शक्ति प्रदर्शन भन्दा पनि कानुनी र आन्तरिक पक्षमा केन्द्रित हुन भेला रोकिएको हो ।

पार्टीभित्रको बढ्दो ध्रुवीकरण र आगामी कार्यदिशाका बारेमा इतर समूहले अब नयाँ शिराबाट छलफल अगाडि बढाउने बताएको छ ।


सम्बन्धित समाचार
भर्खरै