Logo

४ बैशाख, काठमाडौं । नवनिर्वाचित सार्वजनिक लेखा समिति सभापति भरत बहादुर खड्काले मुलुकमा व्याप्त आर्थिक बेथिति र प्रशासनिक ढिलासुस्तीलाई जरैदेखि उखेल्ने उद्घोष गरेका छन् ।

पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अबका दिनमा ‘लेखा समिति वा अख्तियारले समात्ला’ भन्ने बहानामा काम रोक्ने प्रवृत्ति अन्त्य हुने स्पष्ट पारेका हुन् । सभापति खड्काले आफ्नो मुख्य प्राथमिकता आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्नु रहेको बताएका छन् ।

विगतका विसंगतिहरूलाई नदोहोर्‍याउने प्रतिबद्धता जनाउँदै उनले मुलुकको विकासका लागि पारदर्शी प्रणाली अनिवार्य रहेको औंल्याए । ‘कुनै पनि देशको समृद्धिको आधार त्यहाँको आर्थिक अनुशासनले निर्धारण गर्छ,ू उनले भने, ूअब संघदेखि स्थानीय तहसम्मै सुशासनको अनुभूति गराइनेछ।’

बहानाबाजी र ढिलासुस्तीको अन्त्य

प्रशासनिक क्षेत्रमा व्याप्त ‘अख्तियार वा सतर्कता केन्द्रु को डर देखाएर फाइल रोक्ने र काम ढिलो गर्ने चलनलाई खड्काले कडा चुनौती दिएका छन् । प्रचलित ऐन–कानुनको परिधिभित्र बसेर काम गर्दा कसैले डराउनु नपर्ने भन्दै उनले जनताको सेवा प्रवाहमा कुनै पनि बहानाबाजी स्वीकार्य नहुने बताए । उनले भने, ‘काम नगर्ने र विभिन्न बहाना बनाएर पन्छिने परम्परा अब चल्दैन, यसलाई हामी तोडेरै छाड्छौं ।’

चुनौतीलाई अवसरमा बदल्ने संकल्प

अहिलेको बदलिँदो चेतना र परिवेश अनुसार देशलाई सही दिशामा लैजानु आफ्नो लागि चुनौती र अवसर दुवै भएको खड्काको ठम्याइ छ । उनले आफ्नो अनुभव र विज्ञतालाई पूर्ण रूपमा प्रयोग गर्दै समितिलाई दृढताका साथ अगाडि बढाउने विश्वास दिलाएका छन् । समयमै काम सम्पन्न गर्ने र जनतालाई परिणाममुखी सेवा दिने कुरामा अब कुनै सम्झौता नहुने उनको अडान छ ।


सम्बन्धित समाचार