Logo

४ बैशाख, काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा आयोजित एक विशेष समारोहका बीच सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई शपथ दिलाउनुभएको हो । शपथ ग्रहण समारोहमा उपसभामुख रुबी कुमारी ठाकुर र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमको समेत उपस्थिति रहेको थियो ।

प्रतिनिधिसभाका १० वटा समिति र दुईवटा संयुक्त समितिले शुक्रबार नै नयाँ नेतृत्व पाएका हुन् । जसमध्ये १० वटा समितिमा सभापतिहरू निर्विरोध चयन भएका थिए भने दुईवटा समितिमा निर्वाचनमार्फत नेतृत्वको टुङ्गो लागेको थियो ।

निर्विरोध निर्वाचित हुनेहरूमा कानुन समितिकी समीक्षा बास्कोटा, कृषिका अशोक चौधरी, पूर्वाधार विकासका आशिष गजुरेल, महिला समितिकी आकृति अवस्थी, राज्य व्यवस्थाका हरि ढकाल, अन्तर्राष्ट्रिय सम्बन्धकी सुम्निमा उदास, अर्थका कृष्णहरि बुढाथोकी र उद्योग समितिका रहबर अन्सारी रहेका छन् ।

त्यस्तै, संयुक्त संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ पनि निर्विरोध चयन हुनुभएको छ।

निर्वाचन भएका दुई समितिमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवारहरू विजयी भए । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रास्वपाकी डा.ओजस्वी शेरचनले एमालेका गुरु बराललाई पराजित गर्नुभयो भने राज्यका निर्देशक सिद्धान्त अनुगमन समितिमा रास्वपाकै गणेश कार्कीले नेकपाकी मदनकुमारी शाहलाई हराउनुभयो ।

रोचक पक्ष के छ भने, सार्वजनिक लेखा समितिको नेतृत्व सम्हाल्नुभएका नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काबाहेक अन्य सबै ११ वटा समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नै निर्वाचित भएका छन् ।


सम्बन्धित समाचार