Logo

५ वैशाख,चितवन। चितवनको कुलहर रत्ननगर प्रादेशिक अस्पताल को निर्माणाधीन मातृशिशु भवनमा ढिलासुस्ती भएपछि निर्माण कम्पनीलाई लिखित प्रतिबद्धता दिन निर्देशन दिइएको छ। स्थलगत अनुगमनका क्रममा डा. दिनेशचन्द्र देवकोटाकिरण थापा ले कामको प्रगति सन्तोषजनक नभएको भन्दै कडा निर्देशन दिएका हुन्।

रत्ननगर नगरपालिका–२ स्थित अस्पतालमा शनिबार गरिएको अनुगमनमा मन्त्रीद्वयले पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभएको विषयमा निर्माण पक्ष र प्राविधिकहरूसँग कारण सोधपुछ गरेका थिए। भौतिक पूर्वाधार विकास मन्त्री डा. देवकोटाले अब निर्माण कम्पनीका मुख्य सञ्चालक आफैं उपस्थित भएर तोकिएको समयभित्रै काम सक्ने लिखित प्रतिबद्धता दिनुपर्ने बताएका छन्।

“अब कर्मचारीको भरमा मात्र काम हुँदैन, मुख्य सञ्चालकले नै सिधै सम्पर्क गरेर काम सक्ने सुनिश्चितता दिनुपर्छ,” उनले भने, “प्रगति नदेखिए अब म्याद थप हुँदैन, आवश्यक परे जरिवाना वा कानुनी प्रक्रिया अघि बढ्छ।”

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्य का अनुसार भवन अभावले सेवा प्रवाहमा ठूलो समस्या परेको छ। दैनिक १५ सयदेखि १९ सय सेवाग्राही आउने अस्पतालमा पूर्वाधार नहुँदा डायलासिस मेसिन प्रयोगमा ल्याउन नसकिएको, सिटी स्क्यान राख्ने ठाउँ नभएको र एउटै कोठामा दुई चिकित्सकले सेवा दिनुपर्ने अवस्था रहेको उनले बताए।

शहरी विकास तथा भवन कार्यालय का प्रमुख भूपेन्द्र यादव ले भवनको करिब ७० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए। मुख्य संरचना तयार भए पनि फिनिसिङ, एचभीएसी, स्यानिटरी तथा विद्युतीय जडानका काम बाँकी छन्। अब पुनः म्याद नथपिने भन्दै २०८३ जेठ २९ भित्र काम सक्न कडा दबाब दिइने उनले बताए।

निर्माण कम्पनी ‘आशिष योगेश्वर गृह जेभी’ का प्रतिनिधि विराट गोले ले भने प्रशासनिक र प्राविधिक जटिलताका कारण ढिलाइ भएको दाबी गरे। आवश्यक सामग्री छिट्टै आइपुग्ने र तोकिएको समयमै काम सक्ने उनले प्रतिबद्धता जनाए।

करिब १४ करोड ५८ लाख रुपैयाँ लागत अनुमान गरिएको यो परियोजनाको ठेक्का ९ करोड ५८ लाख रुपैयाँमा सम्झौता गरिएको थियो। भवन सञ्चालनमा आएपछि प्रसूति सेवामा सहजता आउने र स्थानीयले विशेषज्ञ सेवा पाउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार