Logo

६ बैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पछिल्लो समय सरकारले चालेका कतिपय कदमहरू अमानवीय र असंवैधानिक रहेको भन्दै कडा शब्दमा आपत्ति जनाएको छ ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले देशका विभिन्न स्थानमा सुकुम्वासी परिवारहरूलाई कुनै पनि विकल्प र पुनर्वासको व्यवस्था नगरी बलपूर्वक उठिबास गराउने तथा उनीहरूका झुप्रा भत्काउने कार्य तत्काल रोक्न माग गरेको छ । राज्यले सीमान्तकृत समुदायको अभिभावकत्व ग्रहण गर्नुको सट्टा उनीहरूलाई बिचल्लीमा पार्नुले नागरिकको राज्यप्रतिको विश्वास नै कमजोर बनाउने र यसले सामाजिक न्यायको खिल्ली उडाएको नेकपाको ठहर छ ।

पार्टीले पछिल्लो समय विद्यार्थी सङ्गठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउन भइरहेको प्रयासलाई लिएर समेत सरकारको कडा आलोचना गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा सङ्गठित हुन पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्न खोज्नु पञ्चायती बर्बरताको झल्को दिने कदम भएको विज्ञप्तिमा उल्लेख छ ।

संविधानले सुनिश्चित गरेको मौलिक हक र अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको बर्खिलाप हुने गरी ट्रेड युनियनहरूलाई प्रतिबन्धित गर्न खोज्नुले वर्तमान सरकारको अनुदारवादी चरित्र छताछुल्ल भएको नेकपाले जनाएको छ । सङ्गठित हुन पाउने अधिकार लोकतन्त्रको प्राणवायु भएको स्मरण गराउँदै यस्ता गतिविधि नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी समेत दिइएको छ ।

यसैगरी, नेकपाले नयाँ सरकार गठनसँगै बजारमा अस्वाभाविक रूपमा महँगी र कालोबजारी बढेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । जनताले वर्तमान सरकारबाट सुशासन र समृद्धिको अपेक्षा गरिरहेका बेला बजार नियन्त्रणमा देखिएको उदासीनता र संसदीय अभ्यासमा देखिएको पूर्वाग्रही प्रवृत्तिले थप चिन्ता बढाएको पार्टीको बुझाइ छ ।

सरकारले गर्ने सकारात्मक कार्यहरूलाई स्वागत गर्ने नीति रहे पनि जनताको मौलिक हक खोस्ने र गरिबको उठिबास गराउने जस्ता कार्यहरू कुनै पनि हालतमा स्वीकार्य नहुने नेकपाले प्रष्ट पारेको छ ।


सम्बन्धित समाचार