Logo

६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद र नेतृत्वको विषयमा सर्वोच्च अदालतले फैसला सुनाएसँगै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अब पार्टीभित्रको एकता र मेलमिलापलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको छ ।

आइतबार काठमाडौँमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको भेलाले कानुनी विवादको पटाक्षेप भइसकेकाले अबका दिनमा आन्तरिक कलहलाई त्यागेर सङ्गठन सुदृढीकरणमा केन्द्रित हुनुपर्नेमा जोड दिएको हो । विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा गर्दै यो समूहले पार्टीलाई विभाजित हुनबाट जोगाउन जिम्मेवार बन्नुपर्ने साझा धारणा बनाएको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता कुन्दनराज काफ्लेले पार्टीलाई एकताबद्ध राख्न केन्द्रीय कार्यालय सानेपाले नै अभिभावकीय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सबै पक्ष र विचारलाई समेटेर अघि बढ्न सके मात्र कांग्रेसको भविष्य सुरक्षित हुने भन्दै उहाँले नेतृत्वले उदारता देखाउनुपर्नेमा जोड दिनुभयो ।

विशेष महाधिवेशनमा सहभागी नभएका र असन्तुष्ट रहेका निवर्तमान सदस्यहरूबीच निरन्तर संवाद जारी राख्ने र पार्टीको वृहत्तर हितका लागि आवश्यक निर्णय लिँदै जाने समेत बैठकले तय गरेको छ ।

छलफलका क्रममा नेताहरूले पार्टीको विगतको साङ्गठनिक अवस्था र निर्वाचनहरूमा भोग्नुपरेको पराजयका कारणहरूका बारेमा समेत सूक्ष्म विश्लेषण गरेका थिए । गुटगत राजनीति र आन्तरिक अन्तर्घातका कारण पार्टी कमजोर भएको निष्कर्ष निकाल्दै देउवा पक्षले अबका दिनमा त्यस्ता कमजोरीहरू सच्याएर अघि बढ्नुपर्ने औँल्याएको छ ।

कानुनी र प्राविधिक लडाइँ सकिएको सन्दर्भमा कार्यकर्ताको मनोविज्ञानलाई बुझेर पार्टीलाई पुरानै लयमा फर्काउन एकताको विकल्प नरहेको भेलाको मुख्य सन्देश रहेको छ ।


सम्बन्धित समाचार