६ बैशाख, काठमाडौं । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि सरकारले झन्झटिलो प्रशासनिक प्रक्रियालाई सहज बनाउँदै घरबाटै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी शाखाले आफ्नो सेवालाई पूर्ण रूपमा ‘फेसलेस’ (भौतिक उपस्थितिशून्य) बनाउन प्रविधिको सफल प्रयोग गरेसँगै यो सुविधा सुरु हुन लागेको हो । सानोठिमीस्थित कार्यालयले एनओसी अनलाइन पोर्टललाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौँ विश्वविद्यालय (केयू) को प्रणालीसँग ‘एपीआई’ मार्फत अन्तरआबद्ध गरेपछि विद्यार्थीहरूले कागजात रुजु गर्न कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
यसअघि विद्यालय तहको विवरण राष्ट्रिय परीक्षा बोर्ड र नागरिकताको विवरण गृह मन्त्रालयको प्रणालीबाट रुजु हुने व्यवस्था भए तापनि स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहका लागि विश्वविद्यालयका प्रमाणपत्रहरू रुजु गर्न भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता थियो ।
तर, वैशाख ४ गते त्रिविसँग भएको पछिल्लो सम्झौता र केयूसँगको अघिल्लो समन्वयले अब विश्वविद्यालयको रजिस्ट्रेसन नम्बर र जन्ममितिका आधारमा प्रणालीले नै स्वतः प्रमाणपत्र प्रमाणीकरण गर्नेछ । महालेखा नियन्त्रक कार्यालयको अनलाइन राजस्व प्रणालीसँग समेत आबद्धता भइसकेकाले अब एनओसीको दस्तुर पनि अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
मन्त्रालयका अनुसार आवेदन प्रक्रिया पूरा भएपछि ‘एप्रुभ’ भएको एनओसी प्रमाणपत्र विद्यार्थीले आफ्नै प्रोफाइलबाट डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन् ।
डिजिटल रूपमा जारी गरिने उक्त प्रमाणपत्रमा सुरक्षाका लागि ‘क्यूआर कोड’ समावेश गरिएको छ, जसलाई स्क्यान गरेर आधिकारिकता सजिलै जाँच गर्न सकिन्छ । यो नयाँ प्रणालीले समय र लागतको बचत मात्र नगई एनओसी शाखामा हुने भीडभाड र बिचौलियाको चलखेललाई समेत पूर्ण रूपमा निरुत्साहित गर्ने विश्वास शिक्षा मन्त्रालयले लिएको छ ।

















