८ बैशाख, काठमाडौँ । निषेधित क्षेत्र तोकिएको देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रै छिरेर गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्ने चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार दिउँसो सुरक्षा घेरा तोड्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पुगेर विरोध प्रदर्शन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सिंहदरबार परिसरभित्रैबाट उनीहरूलाई नियन्त्रणमा लिई हिरासतमा राखिएको छ ।
पक्राउ परेका युवाहरूले विवादास्पद व्यवसायीसँगको सेयर साझेदारी र आर्थिक अपारदर्शिताको आरोप लागेका गृहमन्त्रीले नैतिकताका आधारमा पद त्याग्नुपर्ने माग गर्दै चर्को नाराबाजी गरेका थिए । पछिल्लो समय बिमा कम्पनीको सेयर खरिद प्रकरण र विवादित व्यापारीसँगको व्यावसायिक सम्बन्धलाई लिएर गृहमन्त्री गुरुङ चौतर्फी आलोचनाको घेरामा हुनुहुन्छ ।
सोही प्रकरणलाई लिएर सडक र सदनमा प्रश्न उठिरहेका बेला प्रदर्शनकारीहरू सिधै प्रधानमन्त्री कार्यालयको मूल ढोकामै पुग्नुलाई सुरक्षा व्यवस्थाको चुनौतीका रूपमा समेत हेरिएको छ ।
विगत केही दिनदेखि विभिन्न समूह र राजनीतिक दलका युवा सङ्गठनहरूले गृहमन्त्रीको बर्खास्तीको माग गर्दै विरोधका कार्यक्रमहरू गर्दै आएका छन् ।
सिंहदरबारभित्रै प्रदर्शन भएपछि प्रहरीले थप कडाइ गरेको छ भने पक्राउ परेकाहरूमाथि निषेधित क्षेत्रमा प्रवेश गरी प्रदर्शन गरेको कसुरमा अनुसन्धान अघि बढाइएको छ । गृहमन्त्रीको निजी सचिवालयले भने यी आरोपहरूको खण्डन गर्दै आएको छ, तर सडकमा आक्रोश थामिने संकेत देखिएको छैन ।

















