८ वैशाख,वीरगञ्ज । मधेश प्रदेशका विभिन्न जिल्लामा आज अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित बनेको छ। प्रदेशभरकै उच्च तापक्रम यो समाचार तयार पार्दासम्म वीरगञ्जमा मापन भएको छ, जहाँ तापक्रम ३९ डिग्री सेल्सियस पुगेको छ।
त्यस्तै जनकपुरधाममा ३८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। चर्को घामसँगै तातो हावा (लू) चल्दा सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको छ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा, मजदुर र साना व्यवसायीहरू सबैभन्दा बढी प्रभावित भएका छन्। गर्मीका कारण श्रमिक र सडक व्यवसायीहरू दिनभर काम गर्न नसक्ने अवस्थामा पुगेका छन् भने ग्राहकको चहलपहल घट्दा आम्दानीमा समेत असर परेको छ।
सडक किनारका ठेला तथा पसल व्यवसायीहरू दिउँसोको चर्को घाममा बस्न कठिनाइ भोगिरहेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा अझै केही दिन तापक्रम उच्च रहने सम्भावना छ र तातो हावा चल्ने क्रम जारी रहने देखिएको छ।
स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीबाट बच्न पर्याप्त पानी पिउने, झोलिलो पदार्थ सेवन गर्ने, दिउँसो घरबाहिर ननिस्कने तथा हल्का र खुकुलो कपडा लगाउने जस्ता सावधानी अपनाउन आग्रह गरेका छन्। उनीहरूले बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई विशेष ध्यान दिन पनि सुझाव दिएका छन्।

















