Logo

८ बैशाख, काठमाडौँ । लामो समयदेखि नेतृत्वविहीन रहेको पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया सरकारले औपचारिक रूपमा अघि बढाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्ष चयनका लागि उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्न तीन सदस्यीय उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता विक्रम तिमिल्सिनाका अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणकर भट्टको संयोजकत्वमा यो समिति गठन गरिएको हो ।

समितिमा प्रशासनिक र वित्तीय क्षेत्रका अनुभवी व्यक्तित्वहरूलाई समावेश गरिएको छ । संयोजक भट्टसँगै अर्थ मन्त्रालयका सचिव डा। घनश्याम उपाध्याय र बैंकिङ क्षेत्रका विज्ञ भुवनकुमार दाहाललाई सदस्यको रूपमा चयन गरिएको छ ।

यो समितिले अब धितोपत्र बोर्डको अध्यक्षका लागि इच्छुक योग्य उम्मेदवारहरूबाट आवेदन माग गर्ने, उनीहरूको कार्ययोजनाको मूल्याङ्कन गर्ने र संक्षिप्त सूची ९सर्टलिस्ट० तयार पारी मन्त्रिपरिषद्मा नाम सिफारिस गर्नेछ ।

धितोपत्र बोर्डको नेतृत्व खाली हुँदा बजार सञ्चालन, नयाँ आइपिओ निष्कासनको स्वीकृति र नीतिगत सुधारका धेरै कामहरू प्रभावित हुँदै आएका थिए। पुँजी बजारका लगानीकर्ताहरूले पनि छिटो नेतृत्व चयन गर्न सरकारलाई दबाब दिँदै आएका थिए ।

विज्ञ सदस्यहरू सम्मिलित यो सिफारिस समिति गठन भएसँगै अबको केही हप्ताभित्रै धितोपत्र बोर्डले नयाँ र व्यावसायिक नेतृत्व पाउने अपेक्षा गरिएको छ । यस कदमले सेयर बजारमा देखिएका अन्योलहरू चिर्न र नियामक निकायलाई थप गतिशील बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।


सम्बन्धित समाचार