Logo

९ बैशाख, काठमाडौं । नेपाल बीमा प्राधिकरणले मुलुकमा सञ्चालित ३७ वटा बीमा कम्पनीहरूको पछिल्लो अद्यावधिक विवरणसहितको सूची सार्वजनिक गरेको छ ।

प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ३५ को प्रावधान बमोजिम २०८२ साल चैत मसान्तसम्मको तथ्याङ्कलाई समेटेर यो सूची सार्वजनिक गरेको हो । यस विवरणले बीमा क्षेत्रमा क्रियाशील कम्पनीहरूको दर्ता मिति, ठेगाना र चुक्ता पुँजीको वर्तमान अवस्थालाई छर्लङ्ग पारेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल नेपालमा १४ वटा जीवन बीमा र १४ वटा निर्जीवन बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । पछिल्लो समयमा कम्पनीहरूबीच भएको मर्जर (गाभ्ने–गाभिने) प्रक्रियापछि जीवन र निर्जीवन बीमा कम्पनीहरूको सङ्ख्या बराबर देखिएको हो ।

जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्बभन्दा माथि रहेको छ भने अन्य कम्पनीहरू पनि तोकिएको न्यूनतम पुँजी पुर्‍याउने दौडमा देखिएका छन् ।

त्यसैगरी, जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण मानिने २ वटा पुनर्बीमा कम्पनी र विशेष गरी न्यून आय भएका वर्गलाई लक्षित गरी खोलिएका ७ वटा लघुबीमा कम्पनीहरू पनि यो सूचीमा समेटिएका छन् ।

लघुबीमा कम्पनीहरूले हालैका वर्षहरूमा प्रादेशिक केन्द्रहरू जस्तै चितवन, मोरङ, कैलाली र सुर्खेतलाई मुख्य कार्यालय बनाएर सेवा विस्तार गरिरहेका छन् । बीमा क्षेत्रलाई थप व्यवस्थित र पारदर्शी बनाउन प्राधिकरणले नियमित रूपमा यस्तो विवरण सार्वजनिक गर्दै आएको छ ।


सम्बन्धित समाचार