Logo

९ बैशाख, काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रभावशाली नेता सुदन किरातीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले पार्टीसँगको करिब पाँच महिना लामो यात्रा औपचारिक रूपमा टुङ्गिएको घोषणा गरेका हुन् । किरातीले यसअघि नै पार्टी नेतृत्वलाई राजीनामा बुझाए पनि बुधबार मात्रै सार्वजनिक रूपमा यसबारे जानकारी दिएका हुन् ।

पार्टी परित्यागको घोषणा गर्दै किरातीले प्रलोपामा बिताएको छोटो अवधिलाई ‘अमूल्य सम्पत्ति’ का रूपमा टिप्पणी गरेका छन् । उनले फेसबुकमार्फत पार्टीका नेता, सहकर्मी र कर्मचारीहरूप्रति आभार व्यक्त गर्दै साङ्गठनिक सम्बन्ध सकिए पनि आपसी सम्मान र सद्भाव भने कायमै रहने विश्वास दिलाएका छन् । पाँच महिनाको सहकार्यलाई उनले नयाँ अनुभव र सिकाइको अवसरका रूपमा व्याख्या गरेका छन् ।

प्रलोपा छोडे पनि किरातीले सक्रिय राजनीतिबाट भने विश्राम नलिने स्पष्ट पारेका छन् । उनले सहिदका अधुरा सपना र जनसमुदायको भरोसालाई आत्मसाथ गर्दै समाज रूपान्तरणको महाअभियानमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी राजनीतिक यात्रा चुनौतीपूर्ण हुन सक्ने स्वीकार गर्दै उनले देश र जनताको सेवाका लागि नयाँ मार्गमा अघि बढ्ने सङ्केत गरेका छन् ।


सम्बन्धित समाचार