९ बैशाख, काठमाडौँ । विवादित व्यवसायीसँगको सम्बन्धलाई लिएर चौतर्फी घेराबन्दीमा परेपछि पद त्याग गरेका गृहमन्त्री सुधन गुरुङले आफूमाथि निष्पक्ष छानबिन गर्न चुनौती दिएका छन् ।
बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाउँदै गर्दा गुरुङले आफू पदमा रहिरहँदा अनुसन्धानमा ‘स्वार्थको द्वन्द्व’ हुन सक्ने भन्दै नैतिकताको आधारमा बाहिरिएको स्पष्ट पारेका हुन् । उनले राजीनामा पश्चात् सामाजिक सञ्जालमा समेत कडा प्रतिक्रिया दिँदै सार्वजनिक जीवनको स्वच्छता र नेतृत्वको उत्तरदायित्वमाथि विशेष जोड दिएका छन् ।
‘जनविश्वासभन्दा ठूलो शक्ति अर्को छैन’
आफ्नो राजीनामा वक्तव्यमा गुरुङले पदलाई गौण र नैतिकतालाई प्रधान मानेका छन् । ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो सेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु,’ उनले भनेका छन्, ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन।’ मुलुकमा सुशासन र पारदर्शिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले दिएको सन्देशलाई आत्मसात् गर्दै आफूले यो निर्णय लिएको उनको तर्क छ ।
निष्पक्ष छानबिनको माग र स्वार्थको द्वन्द्व
गुरुङले आफूमाथि लागेका आरोपहरूको छिनोफानो पदमा नरही गराउन चाहेको बताएका छन्। उनले भनेका छन्, ‘पदमा बसेरै छानबिन गर्दा त्यसले अनुसन्धानको निष्पक्षतामा असर पार्न सक्छ । त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको हुँ।’ उनले सहिदहरूको रगत र बलिदानीको आडमा बनेको सरकारमाथि कसैले औँला ठड्याउँछ भने त्यसको जवाफ नैतिकता हुनुपर्ने उल्लेख गर्दै आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको दाबी गरे ।
मिडियालाई चेतावनी
आफूमाथि खनिएका सञ्चारकर्मीहरूलाई लक्षित गर्दै निवर्तमान गृहमन्त्रीले कडा चेतावनी समेत दिएका छन् । आफूले त त्याग र नैतिक साहस देखाएको भन्दै उनले अब मिडियाकर्मीहरूले पनि आफ्नो इमानदारी पुष्टि गर्नुपर्ने चुनौती दिए ।
‘कति मिडियाकर्मी साथीहरूको कहाँ–कहाँ ‘स्वीट सेयर’ छ, त्यो पनि विस्तारै बाहिर आउला, ? उनले भने, ‘रामराज्यको चाहना राख्नेहरूले अरूको मात्र होइन, आफ्नै पनि आत्मशुद्धि गर्न सक्नुपर्छ ।’ सत्य र इमानदारीको बाटोमा सबै उभिनुपर्ने अपिल गर्दै उनले आफ्नो कार्यकालको इमानदारीमाथि कुनै शङ्का नगर्न समेत आग्रह गरेका छन् ।

















