९ वैशाख, काठमाडौं । रुकुम पश्चिमस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा प्रविधिमैत्री कक्षा कोठा निर्माणका नाममा सरकारी रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, कर्मचारी र व्यवसायीलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गरेको हो । आर्थिक वर्ष २०७८/७९ को बजेट परिचालन गर्दा नक्कली बिल भौचर खडा गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याएको आयोगको दाबी छ ।
आयोगले तत्कालीन प्रधानाध्यापक हरिप्रसाद खनाल र लेखापाल ठकबहादुर बुढाथोकीलाई मुख्य आरोपीका रूपमा प्रस्तुत गर्दै जनही १० लाख ७५ हजार ७५३ रुपैयाँ बिगो दाबी गरेको छ। त्यसैगरी, कार्यालय सहायकद्वय रमा शाह र गौरी रावत केसीविरुद्ध जनही ४ लाख ८८ हजार ८११ रुपैयाँ बिगो कायम गरिएको छ । भ्रष्टाचारमा संलग्न भएको भन्दै दाङस्थित डिजिटल कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स वर्ल्डका प्रोपाइटर शिवप्रसाद श्रेष्ठविरुद्ध पनि ७ लाख ८ हजार ८११ रुपैयाँ बिगो दाबीसहित मुद्दा चलाइएको छ ।
घटनामा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष खेमराज खड्का, मुसीकोट नगरपालिकाका शाखा अधिकृत बिनाराम खड्का र सूचना प्रविधि अधिकृत गोपाल ओलीको समेत मिलेमतो देखिएको अख्तियारको ठहर छ ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कसुर अनुसारको कारबाही गर्न माग गरिएको छ । प्रविधिमैत्री शिक्षाका लागि राज्यले पठाएको बजेटमा सामग्री खरिदै नगरी वा न्यून गुणस्तरका सामग्रीलाई बढी मूल्य देखाएर कागज मिलाएको उजुरीमाथि अनुसन्धान गर्दा अनियमितता पुष्टि भएको आयोगले जनाएको छ ।

















