Logo

काठमाडौँ, ९ वैशाख । बुटवलको एक स्वास्थ्य क्लिनिकमा गर्भपतन गराउने क्रममा गर्भवती महिलाको मृत्यु भएको घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले गम्भीर चासो देखाउँदै उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

काउन्सिलको व्यावसायिक आचरण तथा स्वास्थ्य समितिको बैठकले सम्राट पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय विशेष टोली गठन गरी सत्यतथ्य छानबिनको प्रक्रिया अघि बढाएको हो । गठित समितिमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञहरू प्रा।डा। पदमराज पन्त, डा. राजेन्द्र बस्याल, र डा. अनुप पन्थी रहनुभएको छ भने कानुन विज्ञका रूपमा गोविन्द मरासिनी र नागरिक समाजका तर्फबाट दिनेश पाण्डेलाई समावेश गरिएको छ ।

यो टोलीलाई बुटवलस्थित घटना भएको स्वास्थ्य संस्थामा तत्काल पुगेर स्थलगत अनुगमन तथा निरीक्षण गर्न र घटनाको वास्तविक कारणसहितको प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ ।

काउन्सिलले यस छानबिन प्रक्रियालाई प्रभावकारी बनाउन स्थानीय जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीसँग आवश्यक समन्वय गर्ने जनाएको छ ।

स्वास्थ्य संस्थाको चरम लापरबाहीका कारण मृत्यु भएको भन्दै चर्को विरोध भइरहेका बेला काउन्सिलले अनुसन्धानका क्रममा कोही दोषी पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने प्रतिबद्धता समेत व्यक्त गरेको छ । यो कदमले स्वास्थ्य क्षेत्रमा हुने लापरबाही न्यूनीकरण गर्न र पीडित पक्षलाई न्याय दिलाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार