Logo

९ वैशाख,वीरगञ्ज । रौतहटको गौरस्थित यातायात व्यवस्था कार्यालयबाट एक जना बिचौलिया पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा गौर नगरपालिका–५ दोस्तिया टोलका ४० वर्षीय लक्ष्मीकुमार केशरी रहेका छन्।

उनीलाई गौर नगरपालिका–३ मा रहेको यातायात व्यवस्था कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार केशरीले सेवाग्राहीका कागजात बोकेर विभिन्न फाँटमा घुम्ने, काम छिटो गरिदिने भन्दै अनावश्यक झन्झट र हैरानी दिने, साथै सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने प्रलोभन देखाएर प्रभाव पार्ने प्रयास गर्दै आएका थिए।

प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विष्णुप्रदिप बस्यालका अनुसार यस्ता गतिविधिबाट सेवाग्राहीहरू प्रभावित हुँदै आएका कारण उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका केशरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार