Logo

१० बैशाख, काठमाडौं । सार्वजनिक यातायातमा विद्यार्थीले पाउँदै आएको सहुलियतपूर्ण भाडाको विषय फेरि एकपटक सरकार र व्यवसायीबीचको टकरावको केन्द्र बनेको छ ।

रकारले विद्यार्थीलाई छुट दिन दिएको निर्देशनलाई चुनौती दिँदै यातायात व्यवसायीहरूले करमा सहुलियत नपाएसम्म छुट कार्यान्वयन गर्न नसकिने अडान लिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै २०७२ सालदेखिको नीतिगत व्यवस्था र संघीयता कार्यान्वयनपछि उत्पन्न भएको अन्यौलतालाई मुख्य समस्याका रूपमा चित्रण गरेको छ ।

महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, विगतमा व्यवसायीले विद्यार्थीलाई छुट दिएबापत सरकारबाट वार्षिक कर, रुट परमिट र जाँचपास शुल्कमा ६० प्रतिशतसम्मको सहुलियत पाउने सहमति थियो ।

तर, देश संघीय संरचनामा गएसँगै यातायात व्यवस्थापनको अधिकार प्रदेश तहमा पुग्दा यो व्यवस्था तितरबितर भएको व्यवसायीको दाबी छ । कोशी प्रदेशले करमा छुट दिँदा त्यहाँका विद्यार्थीले ४५ प्रतिशतको सहुलियत उपभोग गरिरहेको उदाहरण दिँदै महासंघले अन्य प्रदेश सरकारहरूले भने व्यवसायीलाई दिइँदै आएको पूर्ववत सुविधा कटौती गरेको र फरक-फरक करदर निर्धारण गरेको आरोप लगाएको छ।

६० प्रतिशत कर छुट पाउनुपर्ने अडान 

विभिन्न मन्त्रालय र विभागहरूमा पटक-पटक धाउँदा पनि आफ्ना मागप्रति राज्य उदासीन बनेको भन्दै व्यवसायीहरूले अब सर्तसहितको अडान लिएका छन् । उनीहरूले स्पष्ट रूपमा भनेका छन् कि जबसम्म संघीय र प्रदेश सरकारले व्यवसायीलाई दिँदै आएको ६० प्रतिशत कर छुटको सुविधा पुनः लागू गर्दैनन्, तबसम्म सरकारी परिपत्रकै भरमा मात्र विद्यार्थीलाई छुट दिन सकिँदैन ।

राज्यले एकातिर व्यवसायीमाथि करको भार थप्दै जाने र अर्कोतिर सहुलियतको दबाब दिने कार्य न्यायोचित नभएको उल्लेख गर्दै महासंघले यो विषयमा अर्थपूर्ण वार्ताको ढोका भने खुला राखेको जनाएको छ ।

सडकमा ट्राफिक नियमन र राजस्व संकलनको कडा अभ्यास भइरहेका बेला यातायात क्षेत्रमा देखिएको यो पछिल्लो गतिरोधले आम विद्यार्थी र अभिभावकमा अन्यौलता थपेको छ । सरकार र व्यवसायीबीचको यो जुहारीले गर्दा सार्वजनिक यातायातमा दैनिक यात्रा गर्ने हजारौँ विद्यार्थीहरू सहुलियतबाट वञ्चित हुने जोखिम बढेको छ ।

सरकारले व्यवसायीका माग सम्बोधन गरेर विद्यार्थीको अधिकार सुरक्षित गर्छ या व्यवसायीको यो अडानले थप द्वन्द्व निम्त्याउँछ, त्यो भने आगामी वार्ताको परिणाममा निर्भर रहने देखिन्छ ।


सम्बन्धित समाचार