Logo

११ वैशाख,काठमाडौं ।अनलाइन माध्यमबाट उपहार तथा पार्सल पठाउने बहानामा ठगी गर्दै आएको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलाम फाकफोकथुम गाउँपालिका–६ का २७ वर्षीय सुजन लिम्बू भन्ने सुशन थेगिम रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले टिकटकमा ‘रोहन राजपुत’ नामको नक्कली आईडी बनाएर नेपाली महिलासँग सम्पर्क गर्दै आफूलाई प्रेमीको रूपमा प्रस्तुत गर्ने गरेका थिए। कुराकानीका क्रममा उनले पीडितलाई “म तिमीलाई मन पराउँछु” भन्दै विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गरेको खुलेको छ।

प्रहरीका अनुसार उनले डलर, गरगहना लगायतका उपहार डीएचएलमार्फत पठाएको र ती सामान काठमाडौं विमानस्थलस्थित शाखामा आइपुगेको भन्दै भन्सार कर तिर्नुपर्ने बहानामा रकम माग्ने गरेका थिए। त्यसपछि उनले व्हाट्सएप नम्बर 9700435331 मार्फत सम्पर्क गरी विभिन्न बैंक खातामा करिब २ लाख रुपैयाँसम्म रकम पठाउन लगाएको अनुसन्धानबाट खुलेको छ।

सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनले ४० भन्दा बढी महिलासँग सम्पर्क गरेको देखिएको छ।

प्रहरीले उनको साथबाट मोबाइल फोन र सिमकार्ड बरामद गरेको छ। हाल उनलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार