१८ बैशाख, काठमाडौँ । रोल्पाको जलजलामा बिहीबार दिउँसो भएको भीषण जिप दुर्घटनाका मृतकहरूको शव संकलन गर्न सुरक्षाकर्मीलाई झन्डै २१ घण्टा लागेको छ ।
निकै विकट र भिरालो खोँचमा जिप खसेका कारण बिहीबार रातभर उद्धार कार्य रोकिएकोमा शुक्रबार दिउँसो १२ बजे मात्रै सबै २० वटा शव सडकसम्म ल्याउन सकिएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घटनास्थलको भौगोलिक बनावट अत्यन्तै जटिल भएकाले डोरीको सहायताले पैदल बाटो बनाउँदै सुरक्षाकर्मीहरू ८ सय मिटर तल खोँचमा पुगेका थिए ।
कमजोर सञ्चार पहुँच र कठिन भूगोलका कारण सुरुवाती समन्वय र जनशक्ति परिचालनमा समेत निकै चुनौती थपिएको थियो ।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा १२ महिला, ४ पुरुष र ४ बालक रहेका छन् । रुकुमकोटबाट जलजलातर्फ एकैसाथ २–३ वटा सवारी साधन छुटेकाले कुन गाडीमा को यात्रु थिए भन्ने यकिन हुन नसक्दा हालसम्म मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।
जिप चालक रुकुमपूर्वका बेदबहादुर बिकको अवस्था अझै अज्ञात रहे पनि प्रहरीले उनको समेत मृत्यु भएको हुनसक्ने आशंका गरेको छ ।
यसैबीच, दुर्घटनामा घाइते भएका ३२ वर्षीय समीर कामी भने उपचारपछि डिस्चार्ज भइसकेका छन्। उद्धार गरिएका सबै शवलाई अहिले पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। पहिचान खुल्ने प्रक्रिया जारी रहेकाले पोस्टमार्टमपश्चात् मात्रै शवहरू आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

















