१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुकुम्वासी बस्तीमा डोजर चलाउने सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउनुभएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसको एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले वास्तविक सुकुम्वासीको पहिचान नगरी राज्यले उनीहरूमाथि युद्ध अपराधी’लाई जस्तो निर्मम व्यवहार गरेको आरोप लगाउनुभयो ।
नदी किनारका बस्तीहरूमा भइरहेको बलप्रयोगको आलोचना गर्दै थापाले राज्यलाई झुक्याउने र अन्यत्र घरजग्गा भएर पनि सुकुम्वासी बनेकाहरूलाई कानुन बमोजिम दण्डित गर्नुपर्ने बताउनुभयो । तर, वास्तविक रूपमा भूमिहीन रहेका नागरिकलाई भने कानुनको परिधिभित्र रहेर उचित व्यवस्थापन गर्नुपर्ने उहाको तर्क छ ।
पहिचान र व्यवस्थापनको प्रक्रिया नै नथाली डोजर चलाउनु न्यायसंगत नहुने भन्दै उनले सरकारलाई संवेदनशिल बन्न आग्रह गर्नुभयो ।

















