२६ वैशाख, काठमाडौँ । नेपालको मौसमी प्रणालीमा आएको दोहोरो प्रभावका कारण आज देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको सक्रिय प्रभाव रहेको छ ।
साथै, नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा विकसित भएको न्यून चापीय क्षेत्रले समेत मौसमी गतिविधिमा फेरबदल ल्याएको महाशाखाले जनाएको छ।
अहिले मधेश, बागमती र गण्डकी प्रदेशसहित कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भेगमा साधारणतया बादल लागेको छ । तराईका बाँकी क्षेत्रमा पनि आंशिक बदलीको अवस्था छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने मधेश, गण्डकी र कर्णालीका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा सुरु भइसकेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसममा फेरबदल आउनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हिमपातको समेत प्रक्षेपण गरिएको छ।
तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा मौसम साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। यी तीन प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा राति पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको मौसम विभागले जनाएको छ ।
मेघगर्जन, चट्याङ्ग र हल्का वर्षाको सम्भावना रहेकाले कृषि कार्य, यात्रा र दैनिक कामकाज गर्दा विशेष सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।


















