Logo

२८ बैशाख, काठमाडौं । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाहीलाई प्रहरीले बैंकिङ कसुर (चेक अनादर) मुद्दामा पक्राउ गरेको छ ।

५ लाख ३५ हजार रुपैयाँ बराबरको चेक बाउन्स भएको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय दैलेखले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार शाहीले दिएको चेक बैंकबाट भुक्तान हुन नसकेपछि उनीविरुद्ध कानुनी प्रक्रिया सुरु गरिएको थियो ।

सोही मुद्दाको अनुसन्धानका लागि प्रहरीले उनलाई गत शुक्रबार नै पक्राउ गरेको भए पनि हाल म्याद थप गरी हिरासतमा राखेर विस्तृत छानबिन अगाडि बढाइएको छ । अदालतबाट वैशाख २५ गते म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान प्रक्रियालाई तीव्रता दिएको हो ।

शाही २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् । बहालवाला जनप्रतिनिधि नै बैंकिङ कसुर जस्तो गम्भीर मुद्दामा पक्राउ परेपछि स्थानीय स्तरमा यस विषयले निकै चर्चा पाएको छ । प्रहरीले चेक बाउन्ससम्बन्धी थप प्रमाणहरू संकलन गरिरहेको र कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढ्ने जनाएको छ ।


सम्बन्धित समाचार