२८ बैशाख, काठमाडौँ । विकास निर्माणका आयोजनाहरू ठेक्कामा लिएर तोकिएको समय सीमाभित्र काम सम्पन्न नगर्ने दुई प्रभावशाली निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पीताम्बर बडुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको गोंगबु क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
सहरी विकास मन्त्रालयले आफू मातहतका आयोजनाहरूमा ढिलासुस्ती गरेको र पटक(पटकको ताकेतालाई अटेर गरेको भन्दै उनीहरूलाई उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । मन्त्रालयको सोही आग्रहका आधारमा उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ र कारबाहीका लागि मन्त्रालयमा उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै व्यवसायी नेपालका ठूला निर्माण कम्पनीका सञ्चालक हुन् । लामो समयदेखि ठेक्का ओगटेर काम नगर्ने प्रवृत्तिविरुद्ध सरकारले आक्रामक नीति अख्तियार गरेसँगै यी व्यवसायीहरू कारबाहीको दायरामा आएका हुन् ।
मन्त्रालयले उनीहरूले जिम्मा लिएका कुन(कुन आयोजनामा ढिलासुस्ती भएको हो भन्नेबारे थप विवरण संकलन गरिरहेको छ भने समयमा काम नसक्ने अन्य निर्माण कम्पनीहरूमाथि पनि निगरानी बढाइएको जनाएको छ ।

















