Logo

२८ बैशाख चितवन । चितवनको भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित एक अटो वर्कशपमा भएको हत्या घटनाका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। हत्या आरोपमा पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका–१६ घर भई हाल भरतपुर–१६ बस्दै आएका २७ वर्षीय कृष्णबहादुर खड्का रहेका छन्।

गत वैशाख २२ गते राति करिब ११ः५० बजे बुद्धचोकस्थित “सम्भव अटो वर्कशप” मा काम गर्दै आएका सैनामैना नगरपालिका–६ घर भई हाल भरतपुर–७ बसोबास गर्दै आएका ३० वर्षीय आशिष खनालमाथि धारिलो हतियार प्रहार भएको थियो। गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि भरतपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले वैशाख २३ गते राति मृत घोषणा गरेका थिए।

घटनापछि फरार रहेका खड्कालाई चितवन प्रहरीले पोखरा महानगरपालिका–८ सभागृहचोकस्थित अशोक होटलबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरी का अनुसार कास्की प्रहरीसँगको समन्वयमा उनलाई नियन्त्रणमा लिइएको हो। आरोपीलाई लुकाइछिपाइ राख्न सहयोग गरेको आरोपमा स्याङ्जा घर भई हाल पोखरा–१५ बस्दै आएका २८ वर्षीय सम्राट गुरुङसमेत पक्राउ परेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानले मृतक खनाल र आरोपी खड्काबीच लामो समयदेखिको चिनजान र मित्रता रहेको देखाएको छ। दुवै जना केही समय एउटै वर्कशपमा काम गर्ने क्रममा आर्थिक कारोबार र मोबाइल फोनको विषयलाई लिएर विवादमा परेका थिए।

अनुसन्धानअनुसार घटनाभन्दा केही दिनअघि खड्काले खनालको मोबाइल लगेपछि उनीहरूबीच तनाव बढ्दै गएको थियो। फोन र सामाजिक सञ्जालमार्फत एकअर्कालाई गालीगलौजसमेत हुने गरेको खुलेको प्रहरीले जनाएको छ।

घटनाको राति बुद्धचोक क्षेत्रमा दुवैजनाबीच भनाभन र हातहालाहाल भएपछि स्थिति उग्र बनेको र त्यसक्रममा धारिलो हतियार प्रयोग हुँदा खनालको ज्यान गएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। पक्राउ परेका आरोपीमाथि चितवन जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै