Logo

२९ बैशाख, चितवन । भरतपुर–११ गणेशस्थानस्थित गणेशधाम धार्मिक वन परिसरमा आज सामुदायिक वन क्षेत्रबाट भौँतारिँदै आएको घाइते रतुवा मृग प्रवेश गरेपछि उद्धार गरी जिल्ला वन कार्यालय चितवनलाई हस्तान्तरण गरिएको छ।

ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको गणेशधाम संरक्षण सम्वर्द्धन समितिको परिसरमा आज दिउँसो करिब ४ बजे उक्त घाइते मृग देखिएको हो। अचानक परिसरभित्र मृग प्रवेश गरेपछि स्थानीयवासी र समितिका सदस्यहरू तत्काल सतर्क बनेका थिए।

घाइते अवस्थामा रहेको मृगलाई स्थानीय व्यक्ति राजन खड्काले सुरक्षित रूपमा नियन्त्रणमा लिएका थिए। त्यसपछि गणेशधाम संरक्षण सम्वर्द्धन समितिले तत्काल जिल्ला वन कार्यालय चितवनलाई जानकारी गराएको थियो।

सूचना पाएलगत्तै जिल्ला वन कार्यालय चितवनको टोली उक्त स्थानमा पुगेर आवश्यक प्रक्रिया पूरा गर्दै उक्त मृगलाई सुरक्षित रूपमा उद्धार गरी लगेको समितिले जनाएको छ।

गणेशधाम संरक्षण सम्वर्द्धन समितिका कर्मचारी पशुपति देवकोटाले भन्नुभयो, “हामीले वन कार्यालयलाई खबर गरेपछि टोली आएर मृग सुरक्षित रूपमा लगिएको हो।”

उहाँका अनुसार, “सामुदायिक वन क्षेत्रबाट भौँतारिँदै आएको घाइते मृग गणेशधाम परिसरमा प्रवेश गरेको थियो। स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर तत्काल वन कार्यालयलाई जानकारी गराइयो,” देवकोटाले जानकारी दिनुभयो।

जिल्ला वन कार्यालय चितवनले उक्त क्षेत्रलाई २.४३ हेक्टर क्षेत्रफलमा धार्मिक प्रयोजनका लागि स्वीकृति प्रदान गरी गणेशधाम संरक्षण तथा व्यवस्थापन गर्दै आएको छ ।
उद्धार कार्यमा स्थानीयसँगै अस्थायी प्रहरी बिट गणस्थानका प्रहरी कर्मचारीहरूले पनि सक्रिय सहयोग गरेका थिए । प्रहरीको सहयोगमा मृगलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन र वन कार्यालयको टोलीलाई हस्तान्तरण गर्न सहज भएको जनाइएको छ ।

वन कार्यालयका अनुसार उद्धार गरिएको मृगको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिनेछ। अवस्था सामान्य भएपछि पुनः सुरक्षित रूपमा सामुदायिक वनमै फर्काइने तयारी रहेको छ।


सम्बन्धित समाचार
भर्खरै