Logo

१ जेठ, वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख २२ गते आफ्नो समर्थन फिर्ता लिएपछि सिर्जना भएको संवैधानिक बाध्यताअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

सभामुख रामअशिष यादवका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्राचारबमोजिम आज बिहान ११ बजेका लागि प्रदेश सभाको विशेष बैठक आह्वान गरिएको छ । नेपालको संविधान र प्रदेश सभा नियमावलीअनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले संसद्‌मा आफ्नो बहुमत प्रमाणित गर्नुपर्ने प्रावधान रहेको छ ।

हाल १०२ सदस्यीय कायम रहेको मधेस प्रदेश सभामा बहुमतका लागि ५२ सांसदको समर्थन आवश्यक पर्दछ। जनमत पार्टी सरकारबाट बाहिरिए पनि मुख्यमन्त्री यादवको पक्षमा अझै स्पष्ट बहुमत रहेको सत्तापक्षको दाबी छ ।

नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका अनुसार सरकारलाई नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) नेपालका २६ र नेपाली कम्युनिस्ट पार्टीका १५ गरी कुल ६३ जना सांसदको बलियो समर्थन प्राप्त छ ।

यो संख्या बहुमतका लागि आवश्यक न्यूनतम आँकडाभन्दा ११ ले बढी हो । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि पनि सत्ता समीकरणमा रहेका ठूला दलहरू एकै ठाउँ उभिएकाले मुख्यमन्त्री यादवले सहजै विश्वासको मत प्राप्त गर्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ ।


सम्बन्धित समाचार
भर्खरै