Logo

टोकियो — जापानमा शक्तिशाली समुद्री आँधीसँगैको बाढीपहिरोका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ । ‘नान्मादोल’ आँधीका कारण एक सय जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । उद्धारकर्ताहरूले थप बाढीपहिरो आउन सक्ने चेतावनी दिएका छन् ।आइतबार बिहान जापानको दक्षिणी टापु क्युसुमा समुद्री आँधी नान्मादोल प्रवेश गरेपछि तीव्र गतिमा अघि बढिरहेको छ । आँधीका कारण मंगलबार साँझसम्ममा क्युसुमा ४ जनाले ज्यान गुमाएका र ११४ जना घाइते भएका अधिकारीहरूले पुष्टि गरेका छन् । आँधीका कारण भएको अन्य क्षतिबारे तथ्यांक संकलन भइरहेको जनाइएको छ ।
यसअघि जापान सरकारले नान्मादोल प्रकोपबाट जोगिन कम्तीमा ९० लाख मानिसलाई सुरक्षित स्थानमा जान उर्दी जारी गरेको थियो । आँधीका कारण क्युसु क्षेत्रका १ लाख ४० हजार घरमा विद्युत् आपूर्ति अझै बन्द रहेको छ ।

आँधीका कारण २३४ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चलेपछि जनजीवन तहसनहस भएको छ । हावाहुरीका कारण हजारौं घरहरूमा क्षति पुगेको छ र यातायात सञ्जाल अवरुद्ध भएको बीबीसीले उल्लेख गरेको छ । नान्मादोल आँधीलाई चौथो वा पाँचौं वर्गको जत्तिकै शक्तिशाली मानिएको छ । आँधीका कारण आगामी २४ घण्टामा ४ सय मिलिमिटर पानी पर्ने पूर्वानुमान गरिएको छ ।

आँधीका कारण राजधानी टोकियोमा पनि ठूलो वर्षा गराएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । टोकियोको टोजाई भूमिगत लाइन बाढीका कारण बन्द भएको छ भने बुलेट रेल सेवा, फेरी र सयौं उडान रद्द भएको जनाइएको छ । कतिपय कार्यालय, पसल तथा व्यवसाय पनि खुल्न सकेका छैनन् । सञ्चारमाध्यमहरूमा सार्वजनिक भिडियोमा भवनका छानाहरू उडेका र अन्य संरचनाहरू भत्किएको देखिन्छ ।

समुद्री आँधीले वितण्डा मच्चाएसँगै जापानी प्रधानमन्त्री फुमिओ किसिदाले आफ्नो विदेश भ्रमण पछिका लागि सारेको जनाएका छन् । उनी संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्नका लागि अमेरिकाको न्युयोर्क जाने तयारीमा थिए ।

विज्ञहरूले नान्मादोल आँधी शुक्रबार पूर्वी क्षेत्रतर्फ जाने र जापानको मुख्य टापु होन्सु हुँदै बुधबार पुनः समुद्री क्षेत्रमा पस्ने पूर्वानुमान गरेका छन् ।

जलवायु परिवर्तनका कारण प्रशान्त महासागर र क्यारेबियन सागरको सतह तातो हुने भएकाले समुद्री आँधीको संख्या बढ्ने तथा ती आँधी शक्तिशाली हुने वैज्ञानिकहरूको भनाइ छ ।


सम्बन्धित समाचार