Logo

११ असोज, वीरगन्ज । नेपालीहरुको महान पर्व बडादशैंको दोस्रो दिन आज मंगलबार देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ । ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ ।ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । उनको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।

देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने प्रचलन छ ।नवरात्र सुरु भएसँगै देशभरका शक्तिपिठहरुमा विशेष रौनक छाएको छ ।

वीरगञ्जमा दशैं बजारको चहलपहल बढेको छ । प्रत्येक वर्ष घटस्थापनादेखि वीरगञ्जको घण्टाघर, माईस्थान, गीता मन्दिर रोडमा लाग्ने दशैं मेला लाग्न शुरू भएको हो । दुई वर्षदेखि कोरोना महामारीको कारण प्रभावित भएको दशैं मेला वीरगञ्जमा भव्यताका साथ यसपालि मनाइँदै छ । वीरगञ्जमा यसपालिको चहलपहल र मेलाको धूमधडाका बढेको देखिएको छ । वीरगञ्जको घण्टाघरस्थित बिपी उद्यानमा रमाइलो दशैं मेला शुरू भइसकेको छ भने वीरगञ्जका शक्तिपीठहरू गहवामाई मन्दिर, अलखिया मन्दिर, गीता मन्दिर, महावीर मन्दिर, बिर्तामाई मन्दिर, काली मन्दिर, रानीघाटको कुमारी माई मन्दिर लगायतमा दर्शन गर्ने श्रद्धालुहरुको भीडभाड देखिएको छ ।

काठमाडौं उपत्यकाका नक्साल भगवती, शोभा भगवती, दक्षिणकाली, काभ्रेको नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका दुर्गा मन्दिरहरुमा बिहानैदेखि घुइचो लागेको छ ।


सम्बन्धित समाचार