Logo

९ चैत, जनकपुर । मधेश प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले होली मिलन समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

जनकपुरधाममा शुक्रबार आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले असत्यमाथि सत्यको बिजय भएकै कारणले हिन्दु धर्मावलम्बीहरुले आफ्नो ऐतिहासिक धार्मिक सांस्कतिक महत्वलाई जिवन्त राख्नका लागि होली मनाइने गरेको बताइन् ।

उनले अहिलेको युगमा होली पर्वमा देखिने गरेको विकृतिलाई रोक्नुपर्ने समेत बताइन् । अहिलेको अवस्थामा मानव धर्म र मानवले गर्नुपर्ने कर्म सही वा गलत हो भन्ने ठम्याउनु पर्ने भन्दै उद्योग वाणिज्य तथा पर्यटन मन्त्री यादवले सहीलाई ठम्याउनु सक्नु नै सत्य रहेकाले यसप्रति आमजन सचेत रहनुपर्ने बताइन् ।

उनले होलीको अवसरमा मन्त्रालयका सम्पूर्ण कर्मचारीहरु एकआपसमा भाइचाराको रुपमा समन्वय र सहकार्यसहित मन्त्रालयको कामकाजलाई प्रगति तर्फ डो¥याउनका लागि आग्रह गरिन् ।

मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य दिलीप साहले होली पर्वले विगतको परम्परा र मर्यादालाई बेवास्ता गरि अहिलेका पुस्ताहरु होलीलाई विकृति विसंगतिको रुपमा मनाउन थालिएकोले होलीको मौलिकता, संस्कृति, परम्परालाई कायम राख्दै संरक्षण, संवद्र्धनसहित विकास गर्नुपर्ने बताए । यसले समाजमा बढ्दो विकृति विसंगतिको पनि अन्त्य गर्ने निश्चित रहेको उनले बताए ।

सो मन्त्रालयका सचिव सुशील कुमार साहले आफ्ना मातहतका कर्मचारी अधिकारीहरुलाई समेत होलीको शुभकामना दिँदै विकृति विसंगति र गलतको विरुद्धमा सत्यको जित भएकाले यस पर्वमा सबैले सत्यमार्गमा अघि बढ्नुपर्ने बताए ।

यस कार्यक्रममा आठै जिल्लाका सो मन्त्रालय मातहतका प्रदेश पर्यटन विभागका अधिकारीहरु, पर्यटन कार्यालयका प्रमुखहरु, घरेलु साना तथा उद्योग कार्यालयलगायतका प्रमुखहरुसमेतको सहभागिता रहेको मन्त्रीका स्वकीय सचिव रामानन्द यादवले जनाए ।


सम्बन्धित समाचार