मैले जब धान काटे तब तरकारी खेतीको लागि मलको व्यवस्थापन गरे । तर तरकारी लगाउँदै र मल हाल्दै जादा एकबोरा मल पुगेन । बिउबिजन अँझैँ बाँकी छ । त्यो बिउँविजन त्यसै खेर फाल्न पनि भएन । एकबोरा सुली ल्याएत सबै बिउबिजन रोप्न सकिन्छ ।
यही विचार गर्दै मैले एक खाली बोरा लिदै कुखुराको सुली खोज्न हिडेँ । हो आजकल कोरोनाको महामारी आएदेखि धेरै कृषकहरुले कुखरा पाल्न छोडेका छन् । किनभने लोडसेडिङले न कुखुराको आहारा समयमा पाउन सकिन्छ । न कुखुराको फुलले उचित मूल्य पाएको छ । त्यै पनि बजारमा कटाउनै गाह्रो हुने । त्यसैले आजकल धेरैले घाटा खाएर ब्यावसायिक रुपमा पालेका कुखुरा पाल्न छोडेका छन् । त्यै कारणले होला मल पाउन धेरै गाह्रो भएको ।
म कयौं ठाउँमा गएर बुझेँ ।अह मल कतै पाउन सकिन ।
घुम्दै जाँदा एक मित्र भए ठाउँमा पुगे । जसलाई म आफैले पढाएको थिएँ । मैले उनलाई सोधें, “मल कता पाइन्छ होला?”
उनले आफ्नो सालासँग दुई टेक्टर सुली मल छ । म भनी दिन्छु भन्दै फोन गरे । सालाले मल उठिसकेकोले दिन न मिल्ने भन्ने कुरा बताए । उनले एक बोरा मात्र हो देऊ न भन्दै अनुरोध गरिरहे । अह उसले भिनाजुको अनुरोधलाई पनि लात मार्यो ।
उनले भने, “त्यसो भए मसँग थोरै मल छ । यहीबाट कुखुराको सुली लैजानु होस् ।”
उनले आफैले खनेर बोरामा हाली दिए । त्यति मात्र हो र उचालेर ल्याएर मोटरसाइकलमा लोड गरे ।
“सुलीको पैसा कटाउनुहोस्,” मैले एक हजार निकालेर दिएँ । मैले ठानेको थिएँ, सुली मलको पैसा पाँच सय कटाउलान् । अह उनले पैसा लिन मानेनन् । मैले निकै अनुरोध गरे ।
उनले भने, “बल्ल गुरुलाई केही दिन पाएको छु । म पैसा लिन्न ।”
फेरि अनुरोध गरे पैसा लिएनन् । मैले भनें, “के यो आज लक्ष्मीपूजाको दिन गुरुलाई दिइएको गुरु दक्षिणा हो ।”
उनले भने, “हो हजुर यो गुरुदक्षिणा नै हो । गुरु भरे रोटी र अरु मिष्ठान्न पनि पाक्छ । जसरी भए पनि पाल्नु होला है ?”
म उनको भक्तिभावले गद्गद भए । अहिले लाग्छ, “साँच्चै कलियुगमा पनि गुरुको कदर गर्ने विद्यार्थी हुदा रहेछन् ।”