
४ वैशाख, काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) लालमणि आचार्य प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बिहीबार बसेको बैठकले आचार्यसहित ६ जना प्रहरी नायव महानिरीक्षकलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो ।
समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक दिपक थापाले बिहीबार जारी गरेको बढुवा सिफारिस सूची अनुसार बढुवा सिफारिस हुने अन्य प्रहरी अधिकारीहरूमा केन्द्रिय अनुसन्धान ब्यूरो लाजिम्पाट, काठमाडौंका चन्द्र कुबेर खापुङ, बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरका कृष्णहरी शर्मा पोखरेल, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका दान बहादुर कार्की, कोशी प्रदेश प्रहरी कार्यालय, मोरङका राजन अधिकारी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजका डा. मनोज कुमार के.सी रहेका छन् ।