Logo

४ वैशाख,वीरगञ्ज । मधेश प्रदेश सरकारले आफ्नो क्षेत्रमा सञ्चालन गरिरहेका विकास योजनाबारे समन्वय नगरेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाले गुनासो गरेको छ । उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै प्रदेश सरकारले समन्वय नगरी विभिन्न योजनाहरू सञ्चालन गरिरहेको जानकारी गराएका हुन् ।

प्रमुख पौडेलले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयहरूले उपमहानगरपालिकाभित्र जानकारी र समन्वय बिना नै विभिन्न योजनाहरू कार्यान्वयन गरिरहेको बताएका छन् । नेपालको संविधानको धारा २३२ मा संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य, सहअस्तित्व र समन्वयमा काम गर्नुपर्ने व्यवस्था भए पनि प्रदेश सरकारले त्यसको उल्लंघन गरेको उनको आरोप छ ।

पत्रमा प्रदेश सरकारले आवश्यकताको सिद्धान्तलाई समेत बेवास्ता गरी उपमहानगरपालिका क्षेत्रमा दोहोरोपना हुने गरी उपभोक्ता समिति गठन गरेर योजनाहरू सञ्चालन गरेको उल्लेख छ । यसले सरकारको ठूलो रकम दुरुपयोग हुने सम्भावना रहेको पौडेलले औंल्याएका छन् ।

प्रदेश सरकारबाट उपभोक्ता समिति मार्फत हुने विकास निर्माणमा विचौलिया हावी भएको र विभिन्न मन्त्रालय तथा कार्यालयमा कमिशन लिएर काम भइरहेको भन्ने गुनासोहरू सार्वजनिक भएको पत्रमा उल्लेख छ । यस विषयमा प्रदेश सभामा समेत धेरै पटक आवाज उठेको स्मरण गराइएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा निर्माण हुने सबै योजनामा गुणस्तरीयता र सुशासन कायम गरिरहेको जनाएको छ । पालिकाको आफ्नै भवन निर्माण र सडक मापदण्ड बनिसकेको अवस्थामा सोही मापदण्ड लागू गर्न एकरुपता आवश्यक रहेको प्रमुख पौडेलले बताएका छन् । उनले स्थानीय तहको अधिकार सूची अनुसार तथ्याङ्क र अभिलेख संकलन तथा स्थानीय स्तरका विकास आयोजनाको अभिलेख व्यवस्थापन गर्नु उपमहानगरपालिकाको संवैधानिक अधिकार भएको पनि स्मरण गराएका छन् ।

अतः प्रमुख पौडेलले प्रदेश सरकारलाई आर्थिक वर्ष २०८१/०८२ मा उपमहानगरपालिका क्षेत्रमा सञ्चालन भएका र उपभोक्ता समिति गठन भएका योजनाहरूको विवरण उपलब्ध गराउन निर्देशन दिन आग्रह गरेका छन् । साथै, उनले विकास निर्माणका कार्यमा समन्वय गर्न उपमहानगरपालिका सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त पत्रको बोधार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति बारा र जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुखलाई समेत पठाइएको छ ।


सम्बन्धित समाचार