
४ वैशाख, काठमाडौं । ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बमजन बलात्कार मुद्दामा उच्च अदालत जनकपुरबाट सफाइ पाएपछि जेलमुक्त भएका छन् । सर्लाहीकी नाबालिका अनुयायीमाथि यौन दुराचार गरेको आरोप लागेका बमजनलाई उच्च अदालतले जिल्ला अदालत सर्लाहीको फैसला उल्टाउँदै सफाइ दिएको हो ।
उच्च अदालत जनकपुरका न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले २०८१ चैत ६ गते बमजनलाई बलात्कार मुद्दामा सफाइ दिएको अदालतका उप–रजिष्ट्रार सुशील यादवले जानकारी दिए । यसअघि जिल्ला अदालत सर्लाहीले बमजनलाई २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।
सफाइ पाएपछि बमजन चैत ७ गते सिन्धुपाल्चोक कारागारबाट रिहा भएका हुन् । फैसला भएको बखत उनी अर्की अनुयायी फूलमाया रुम्बा बेपत्ता पारेको मुद्दाको सुनुवाइका लागि सिन्धुपाल्चोक कारागारमा थिए । रुम्बा बेपत्ता प्रकरणमा सिन्धुपाल्चोक अदालतले उनलाई गत कात्तिक २५ गते धरौटीमा रिहा गरेको थियो ।
यसअघि बमजनलाई अर्की अनुयायी चिनिमाया तामाङ बेपत्ता पारेको मुद्दामा नुवाकोट जिल्ला अदालतले साधारण तारिखमा रिहा गरिसकेको छ । तर, उनीविरुद्ध बारामा सुरेशकुमार आले बेपत्ता प्रकरणको निवेदन दर्ता हुन बाँकी छ भने सर्लाहीमा रिता बोट बेपत्ता प्रकरणको उजुरीबारे प्रहरीले जानकारी दिन सकेको छैन ।
बमजनविरुद्ध जिल्ला अदालत सर्लाहीमा ८ करोड २७ लाख रुपैयाँ गैरकानुनी तरिकाले आर्जन गरेको सम्पत्ति शुद्धीकरण मुद्दा भने अझै विचाराधीन छ ।
कारागारबाट छुटेपछि बमजन कहाँ गए भन्नेबारे प्रहरीले खोजी गरिरहेको बताइएको छ । उनको स्थायी ठेगाना बाराको निजगढ नगरपालिका–१२ र हालको ठेगाना काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ हात्तीगौंडा हो । ३० वर्षीय रामलाल बमजनलाई प्रहरीले २०८० पुस २५ गते हात्तीगौंडास्थित घरबाट पक्राउ गरेको थियो ।