Logo

१६ असोज, वीरगन्ज । बडा दशैंको सातौं दिन आज भगवती दुर्गाको सातौं स्वरुप कालरात्रीको पूजाआराधना गरिन्छ। कालरात्रीलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ।पौराणिक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्री अवतार धारण गरेकी थिइन् । सप्तमीको विहानै आफ्नो नित्य कर्मपछि अरु देवीको जसरी नै पूजाआराधना गरिन्छ।करालवंदना धोरां मुक्तकेशी चतुर्भुजाम् ।कालरात्री करालिंका दिव्यां विद्युतमाला विभूषिताम् ।

शास्त्रानुसार कालरात्रीको स्वरुप कालो र भयभीत गर्नेवाला रहेको छ। कपाललाई फिँजाइएको छ भने उनको चार हात रहेका छन् । विद्युत्को माला लागाएकी यस्ती कालरात्रीको काल पनि डराउने स्वरुप रहेको छ।
चार हातमध्ये एक हातमा तरवार, एकमा काटिएको शिर र अर्को हालमा काटिएको शिरबाट चुहिएको रगत थाप्न कचौरा लिएको यस्तो स्वरुप देवी कालरात्रीको रहेको छ ।

देवीको जति डरलाग्दो स्वरुप छ त्यति नै शुभ फल पनि दिने भएकाले कालरात्रीलाई शुभांकरी पनि भनिन्छ। कालरात्रीको उपासनाले मनभित्र र बाहिरका हरेक डर त्रासहरू समाप्त हुने विश्वास गरिन्छ। ज्योतिष शास्त्रमा शनिको प्रकोप हटाउन पनि कालीको उपसना गर्ने विधि रहेको छ ।
नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ।

वीरगञ्जमा दशैं बजारको चहलपहल बढेको छ । प्रत्येक वर्ष घटस्थापनादेखि वीरगञ्जको घण्टाघर, माईस्थान, गीता मन्दिर रोडमा लाग्ने दशैं मेला लाग्न शुरू भएको हो । दुई वर्षदेखि कोरोना महामारीको कारण प्रभावित भएको दशैं मेला वीरगञ्जमा भव्यताका साथ यसपालि मनाइँदै छ ।
वीरगञ्जमा यसपालिको चहलपहल र मेलाको धूमधडाका बढेको देखिएको छ । वीरगञ्जको घण्टाघरस्थित बिपी उद्यानमा रमाइलो दशैं मेला शुरू भइसकेको छ भने वीरगञ्जका शक्तिपीठहरू गहवामाई मन्दिर, अलखिया मन्दिर, गीता मन्दिर, महावीर मन्दिर, बिर्तामाई मन्दिर, काली मन्दिर, रानीघाटको कुमारी माई मन्दिर लगायतमा दर्शन गर्ने श्रद्धालुहरुको भीडभाड देखिएको छ ।

विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवतीको मन्दिर, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ।


सम्बन्धित समाचार