Logo

२१ असोज, वीरगन्ज । चितवन जिल्लामा एक हजार २६ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।कार्यालयका अनुसार पाँच हजार दुई सय ८५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गी देखिएको हो । ती मध्ये ६ सय ९३ जना चितवनका रहेका छन् ।

दुई सय १७ जना बाहिरी जिल्लाका र एक सय १६ जनाको ठेगाना नखुलेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार डेङ्गीका कारण जिल्लामा दुईजनाको मृत्यु भइसकेको छ ।जिल्लाभित्र भेटिएका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकामा चार सय ४९, रत्ननगर नगरपालिकामा एक सय तीन, खैरहनी नगरपालिकामा ६३ जनामा डेङ्गी सङ्क्रमण देखिएको कार्यालयलको तथ्याङ्कले देखाएको छ ।

यस्तै राप्ती नगरपालिकामा ३६, माडी नगरपालिकामा १९, कालिका नगरपालिकामा १८ र इच्छाकामना गाउँपालिकामा पाँचजनामा डेङ्गी देखिएको हो ।सङ्क्रमितमध्ये सबैभन्दा बढी पुरुष रहेका छन् । चार सय ६ पुरुष र दुई सय ८७ महिलामा डेङ्गु देखिएको कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार