Logo

२८ असोज, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । जोशीको स्वास्थ्य अवस्थामा सुधार नभएको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । शुक्रबार साँझ अस्पतालले विज्ञप्ति जारी गर्दै अतिसघन कक्षमा उपचार भैरहेको अवस्थामा औषधिले काम गर्न छोडेकोले जोशीको अवस्था झन जटिल बन्दै गएको जनाएको छ ।

जोशीको छातीमा निमोनिया संक्रमण देखिएको छ । उमेर धेरै भएको र पुरोनो रोगले ग्रसित पारेकाले औषधिले पनि काम नगरेको उपचारमा संलग्न एक चिकित्सकले बताए । निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेंगु संक्रमण देखिएपछि जोशी २२ दिनदेखि उपचारत छन् ।

औषधिले शरीरमा त्यति राम्रो काम गरिरहेको छैन’, अस्पताका निर्देशक प्रा.डा. सुरज ब्रजाचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकाले जोशीको अवस्था चिन्ताजनक नै रहेको छ ।’

स्वास्थ्य अवस्था केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो । बिहीबार बिहान फेरि स्वास्थ्यमा समस्या देखिएपछि क्याबिनबाट आईसीयूमा सारिएको थियो । अहिले जोशीलाई प्रतिमिनेट ५ लिटर हाइफ्लो अक्सिजन दिनुपरेको छ । अस्पताले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा उनलाई ३० लिटर प्रतिमिनेटको दरमा अक्सिजन दिइएको जनाएको थियो ।

१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।अस्पतालका स्रोत अनुसार विगत २० दिनदेखि उपचाररत जोशीको स्वास्थ्य अवस्था जटिल छ । जोशीलाई बिहीबार धेरै नै अक्सिजन दिनुपरेको भएपनि शुक्रबार त्यसमा केही सुधार देखिएको छ । यसका साथै मुटुको चालमा पनि समस्या रहेको छ । उनको हालको मुख्य समस्या नै शरीरमा अक्सिजनको मात्रा शरिरको आवश्यकता अनुसार कायम नहुनु देखिएको छ ।

जोशीको स्वास्थ्यमा छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् ।

किस्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ ।


सम्बन्धित समाचार